एजेन्सी - सन् २०२१ मा बिटक्वाइन (क्रिप्टोकरेन्सी) बजार तीव्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलर पुगिसकेको छ । वालस्ट्रिट समेतका ठूला नामहरुलाई यसले आफूतिर आकर्षित गरिरहेको छ ।
डिजिटल मुद्रा क्वाइनबेस न्यूयोर्कमा मङ्गलबार सूचीकृत हुँदैछ । १२ वर्षअघि स्थापित क्वाइनबेसको सफलताका बारेमा एएफपीले अनुसन्धान गरेको छ ।
बिटक्वाइनबाट हुने सीमित भुक्तानी र यसको अस्थिरताका बाबजूद सुनजस्तो बहुमूल्य वस्तुलाई पनि यसले उछिन्ने अनुमान गरिएको छ । पछिल्ला दिनहरुमा सुनभन्दा बिटक्वाइनमा लगानी बढ्ने आँकलन गर्न थालिएको छ ।
नाइजेरियामा हालैका वर्षहरुमा डलरको तुलनामा आफ्नो मुद्रा नाइरालाई ५० प्रतिशतले अवमूल्यन गरिएको छ । नाइजेरियामा हाल झण्डै एक तिहाई मानिसले क्रिप्टोकरेन्सी प्रयोग गर्न थालेको दाबी गरिएको छ ।
सन् २०१८ मा बिटक्वाइनको मूल्यमा गिरावट आए पनि गत वर्षको अन्त्यदेखि फेरि यसको मूल्य अकाशिएको छ । गत वर्ष अक्टोबरमा प्रति बिटक्वाइनको मूल्य १२ हजार डलर रहेकामा एक महिना अघिमात्र यसको मूल्य ६० हजार डलरभन्दा बढी पुगेको छ ।
विद्युतीय कार निर्माता टेस्लाले हालैमात्र बिटक्वाइनमा एक अर्ब ५० करोड डलर लगानी गरेको छ । गत मार्चदेखि टेस्लाले कारको भुक्तानीका लागि यही मुद्रालाई स्वीकार्न थालेको छ ।
टेस्लाका अर्बपति प्रमुख कार्यकारी एलन मस्कले क्रिप्टोकरेन्सीका गुणका बारेमा सामाजिक संजालमा पनि खुलेरै लेखेका छन् ।
के हो बिटक्वाइन ?
बिटक्वाइन एक डिजिटल करेन्सी हो । यसलाई क्रिप्टोकरेन्सी पनि भन्ने गरिन्छ । यसको कुनै रङ वा भौतिक स्वरुप हुँदैन ।
यसलाई मात्र प्राविधिक रुपमा कुनै कम्प्युटर तथा इन्टरनेटमा राख्न सकिन्छ । यसलाई नियन्त्रण गर्ने कुनै देश तथा संस्थान नहुने हुँदा बिटक्वाइनद्वारा केही समान खरिदबिक्री तथा पैसा आदानप्रदान गर्न बैंक जस्तो तेस्रो पक्षको आवश्यकता पर्दैन ।
प्रतिक्रिया