एजेन्सी - बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ ।
राजपदवी त्यागेर विदेश गएका बेलायती पूर्वराजकुमार ह्यारी हजुरबुवालाई अन्तिम विदाइ गर्न घर फर्किएका छन् ।
बेलायती सञ्चारमाध्यमहरूका अनुसार श्रीमती र छोरासँग अमेरिकामा बसिरहेका ह्यारी हजुरबुवा फिलिप्सको अन्तिम संस्कारमा सहभागी हुन आइतबार लन्डन आइपुगेका हुन् ।
लन्डनमा उनी पाँच दिन क्वारेन्टिनमा बस्नेछन् । बेलायतले विदेशबाट आएकालाई १० दिन क्वारेन्टिनमा बस्नु पर्ने मापदण्ड बनाएको छ ।
तर कसैलाई नगई नहुने काम परे पाँच दिनमा पनि क्वारेन्टिनबाट निस्कन पाइन्छ । ह्यारी पनि पाँच दिनपछि कोरोना परीक्षण गरेर हजुरबुवाको अन्तिम संस्कारमा सहभागी हुने जनाइएको छ ।
गत शुक्रबार ९९ वर्षको उमेरमा राजकुमार फिलिप्सको निधन भएको हो । ह्यारीसँग उनकी पत्नी मेघन मार्कल भने आएकी छैनन् ।
उनले आउन चाहेको भए पनि गर्भवती भएकाले आउन नसकेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ह्यारी र मेघनले दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिँदै छन् ।
प्रतिक्रिया