राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि, नातिनी बुहारी मेगन सहभागी हुन नपाउने

५ बर्ष अगाडि

एजेन्सी - बेलायती महारानीका श्रीमान, ड्युक अफ एडिनबरा राजकुमार फिलिपको अन्तिम संस्कारमा उनकी नातिनी बुहारी मेगन मर्केल सहभागी हुन नपाउने भएकी छिन् । 

ड्युकका नाती राजकुमार ह्यारीकी पत्नी मेगनले अन्तिम संस्कारमा सहभागी हुनको लागि हरसम्भव प्रयास गरेको तर डाक्टरहरुले उनलाई यात्रा नगर्न भनेको बकिंघम राजदरबारका एक बरिष्ठ प्रवक्तालाई उद्धृत गर्दै बेलायती अखबार द सनले जनाएको छ ।

मेगन मर्केल गर्भवती छिन् र यही कारण उनलाई यात्रा नगर्न भनिएको छ । मेगन अहिले राजकुमार ह्यारीको साथमा अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी छिन् । 

उनका श्रीमान राजकुमार ह्यारी भने अन्तिम संस्कारमा सहभागी हुन जानेछन् । फिलीपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । 

बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताले ९९ वर्षको उमेरमा स्वर्गारोहण भएका फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गर्ने निर्णय भएको हो ।  

गत शुक्रबार नै उनको निधन भएपनि संवैधानिक प्रक्रिया मार्फत उनको अन्त्येष्टि गर्नु पर्ने भएकाले ढिला हुने भएको अधिकारीहरुले बताएका छन् ।  

स्थानीय समय अनुसार अप्रिल १७ तारिखको दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा उनको अन्त्येष्टि सुरु गरिने तय भएको छ ।

कोरोना भाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ भने अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइने भएको छ ।  

उनको निधनमा देशभरी आठ दिन शोक मनाउने निर्णय भएको सरकारले जनाएको छ । शोक मनाउने समयमा देशभरी राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ भने राजदरबारमा पुरै झण्डा झुकाइने भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया