काभ्रेको ३३ जङ्गलमा डढेलो, आगो नियन्त्रण भन्दा बाहिर

५ बर्ष अगाडि

काठमाडौं - नमोबुद्ध नगरपालिका–६ र ७ काँक्रेस्थित जङ्गलमा शनिबार भएको आगलागी निभाउन सकिएको छैन । काँक्रेको पौवाडाँडामा शनिबार बिहान १० बजेबाट शुरु भएको आगलागी घोरेटो भिर, सीताघारी हुँदै अहिले ल्याँसे जङ्गलतर्फ गइरहेको छ ।

आगलागी नियन्त्रण गर्न शनिबार राति १२ बजेसम्म नगरको दमकल, स्थानीयवासी, जनप्रतिनिधि, प्रहरी र भकुण्डेस्थित २६ बाहिनीका नेपाली सेना प्रयासरत रहेको मेयर टिपि शर्माले जनाकारी दिए । साथै आगो नियन्त्रण भन्दा बाहिर रहेको पनि उनले बताए । 

उनका अनुसार अहिले ल्याँसे जङ्गलमा ठूलाठूला आगो र धुँवाको मुस्लो देखिएको छ । आगलागी भएको जङ्गल छेउछाउ मानव बस्ती नभए पनि बारी र दुई/चार सङ्ख्यामा गोठ रहेको उनले बताए ।

काँक्रेको आगलागीसमेत गरी दुई महिनाको अवधिमा काभ्रेपलाञ्चोकको विभिन्न ३३ सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय धुलिखेलका अनुसार फागुन महिनाको पहिलो सातादेखि चैतको अन्तिम सातासम्म ३२ वन क्षेत्रको ६५० हेक्टरमा डढेलो लागेको हो ।

काँक्रेबाहेक सबै आगलागी नियन्त्रणमा आइसकेको कार्यालयले जनाएको छ । फागुन पहिलो साता भुम्लु गाउँपालिका–४ स्थित लाँकुर भलभुले, चापानी, धारापानी र लाम्राङ आहालडाँडा सामुदायिक वनमा आगलागी भएको थियो ।

त्यसलगत्तै भुम्लुकै वडा नं ५ स्थित छेकर्पा र फागरखोला सामुदायिक वन तथा वडा नं ९ को घट्टेखोला सामुदायिक वन, चौँरीदेउराली गाउँपालिका–१ स्थित साँगास्वती, वडा नं ७ को मादन सल्लेरी सामुदायिक वनमा आगलागी भएको थियो ।

खानीखोला गाउँपालिका–५ को फर्लेक धारपानी र गोल्मे सामुदायिक वन, पनौती नपा–५ चौकोटस्थित गैह्रीगाउँ, नमोबुद्ध नपा–३ को चरुवा सामुदायिक वन, मण्डनदेउपुर नपा–११ स्थित जैसिथोक सामुदायिक वन, वडा नं ९ को जुकेपानी, घ्याम्पेपानी र पौवा सामुदायिक वनमा डढेलो लागेको कार्यालयले जनाएको छ ।

यसैगरी बेथानचोक गाउँपालिका–५ र ६ वडास्थित राष्ट्रिय वन क्षेत्र तथा ५ नं वडाको दक्षिण भारत, चिसापानी सामुदायिक वन, ३ नं वडास्थित नारायणस्थान र गोरखनाथ सामुदायिक वन, २ नं वडाको जनजागृति, महाँकाल, पाट्नेखोला, खहरे, डुकुल्चे र अमिलचौर सामुदायिक वन क्षेत्रमा डढेलो लागेको बताइएको छ । 

तथ्याङ्कमा सबैभन्दा बढी बेथानचोक गाउँपालिकाको २९ हेक्टर, भुम्लुको १४५ हेक्टर, खानीखोलाको ९० हेक्टर, चौँरीदेउरालीको ७८ हेक्टर, महाभारतको ३३ हेक्टर जङ्गलमा डढेलो लागेको उल्लेख गरिएको छ ।

साथै पनौती नगरको २५ हेक्टर, मण्डनदेउपुर नगरको २२ हेक्टर, नमोबुद्ध नगरको पाँच र पाँचखाल नगरको तीन हेक्टर जङ्गलमा आगलागी भएको थियो ।

डढेलोबाट विशेषगरी जङ्गलमा रहेका साना बोट–बिरुवाका साथै वन्यजन्तु विस्थापनमा परेको कार्यालयले जनाएको छ । आगलागी भएका केही जङ्गलमा स्थानीयवासी तथा सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रणमा ल्याइएको थियो भने कतिपय जङ्गलको डढेलो आफैँ नियन्त्रणमा आएको जनाइएको छ । 

विगतका वर्षको तुलनामा यस वर्ष लामो खडेरी परेका कारण पनि अधिकांश सामुदायिक वनमा डढेलो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

पाँच वर्षअघि यही समयमा काभे्रपलाञ्चोकका विभिन्न सामुदायिक वनको डढेलोले करिब एक हजार ३०० हेक्टर क्षेत्र नष्ट भएको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार विसं २०७२ को फागुनदेखि वैशाखसम्मको डढेलोले जिल्लाको दक्षिणी महाभारत पहाड शृङ्खलामा बढी क्षति पु¥याएको थियो ।

त्यसबेला महाभारत क्षेत्रको २५० हेक्टर, जनागाल क्षेत्रको ५५ हेक्टर, नारायणस्थान क्षेत्रमा ६० हेक्टर, खोपासी क्षेत्रमा ३३९ हेक्टर र चौबासमा ७० हेक्टर सामुदायिक वनमा डढेलो लागेको थियो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया