नेपालबाट ३२३ विदेशी नागरिक देश निकाला, कुन देशको कति ?

५ बर्ष अगाडि

काठमाडौं - नेपालबाट एक वर्षमा ३२३ जना विदेशी नागरिक देश निकाला भएका छन् । सन् २०२० मा विभिन्न प्रयोजनका लागि नेपाल भित्रिएर गैरकानुनी रुपमा बस्दै आएका ३२३ जना विदेशीलाई निष्कासन गरिएको हो । 

अध्यागमन विभागका अनुसार फागुन महिनामा मात्र १३६ जना विदेशी नागरिकलाई देश निकाला गरिएको छ । सन् २०२० मा देश निकाला गरिएका ३२३ मध्ये सबैभन्दा धेरै २२६ जना चीनका नागरिक रहेका छन् ।

बाँकीमध्ये १८ जना बंगलादेश, ८ जना अमेरिका, ७ जना इरान, ७ जना भियतनाम, ६ जना पाकिस्तान, ६ जना भुटान, ५ जना रिपब्लिक कोटडिभोरे, ५ जना यमन, ३ जना नाइजेरिया, ३ जना पपुवा न्युगिनी, २ जना जर्मनीका नागरिक रहेका छन् । 

बाँकी २७ जना रोमानिया, रसिया, सोमालिया, स्विट्जरल्याण्ड, आइल्याण्ड र बेलायतका नागरिक रहेको विभागले जनाएको छ । 

निष्कासन गरिएकाहरूलाई भिसा अवधिभन्दा धेरै समय नेपालमा बसेका,  भिसा विपरीत कार्यमा संलग्न, शंकास्पद राहदानी, लागूऔषध, नक्कली राहदानी, आन्दोलनमा सहभागी, चोरी, जाली नागरिकता, जाली भिसा, मानव बेचबिखन, सुन तस्करीको कसुर लागेको थियो ।

त्यस्तै नक्कली रुपैयाँ बोकेको, अभद्र व्यवहार, राजस्व चुहावट, बैकिङ कसुरमा पनि देश निकाला भएको विभागले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया