अज्ञात समूहद्वारा नगरप्रमुखका दुई डोजरमा आगजनी

५ बर्ष अगाडि

काठमाडौं - डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ । 

नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे १ क ४६३६ र भे १ क १२९४ नंका दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।

घटना विषयमा स्थानीयवासीसँग बुझ्दा शनिबार साँझ ७ः३० बजेसम्म सकुसल भएको र बिहानमात्रै आगजनी भएको पाइएको डाँगीको भनाइ छ । घटना कसले कसरी घटायो अझै पत्ता नलागेको भन्दै उहाँले आफ्नो नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेकाले अनुसन्धान शुरु गरिएको बताए । 

आगजनीबाट दुईवटै डोजर पूर्णरूपमा क्षति भएको बताइएको छ । दुईवटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ । 

आफू काठमाडौँ भएको र घटनाका विषयमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताए । प्रहरी घटनास्थलमा पुगिसकेको र अहिले ठ्याक्कै कसैमाथि शङ्का नभएको शाहीको भनाइ छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया