तुवाँलो अझै खराब हुने सम्भावना, घर बाहिर ननिस्कन अपिल

५ बर्ष अगाडि

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ ।
 
वायु प्रदूषण मौसममा पनि भरपर्छ ।  मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका  छन् ।  वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ ।   विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी  विरामी र मुटुका रोगीहरु बढी प्रभवित हुने भएकाले विभागले विशेष सावधानी अपनाउन सबैमा अपिल गरेको छ ।

विभागका उपमहानिर्देशक इन्दुबिक्रम जोशीले सकेसम्म सबै उमेर समूहका नागरिकलाई सम्भव भएसम्म घर बाहिर नकिस्कन, निस्कनैपर्ने अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो । आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले फोहर बाल्ने र खुलारुपमा आगो बाल्ने कार्य नगरिदिन, विद्युतीय सावारी साधन बाहेकका अन्य सवारी साधन कम प्रयोग गर्न विभागले आग्रह गरेको छ ।
 
शुक्रबारयता काठमाडौँ उपत्यकालगायतका स्थानको वायु प्रदूषण सूचक ९एक्यूआई० ३०० को हाराहारी रहेको छ । विभागका अनुसार मानव स्वास्थ्यका लागि शून्यदेखि ५० सम्मको एक्यूआइ राम्रो, ५० देखि १०० सम्म सामान्य तथा १०० देखि माथिको तहलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
 
 प्रदूषणको प्रमुख कारण डढेलो  
 
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो लागेको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै तीन दिनदेखि नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको जानकारी दिए । उनका अनुसार मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था छैन् ।
 
विभागकै मौसमविद् मञ्जु बासीले डढेलोका कारण वायुमण्डलमा असर परेको र बाक्लो तुवाँलो लागेको बताइन् । 
 
अहिले काठमाडौँ उपत्यका पूरै तुवाँलोले ढाकेको र भिजिबिलिटी कम रहेको उनले जानकारी दिइन् । प्रदेश नं २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा वायु प्रदूषण देखिएको छ । काठमाडौँ उपत्यका जस्तै अन्य उपत्यकामा पनि बढी असर रहेको मौसमविद् बासीको भनाइ छ । सोमबार साँझदेखि पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भएकाले मङ्गलबारसम्म उक्त वायु काठमाडौँ प्रवेश गरेसँगै  मौसममा केही सुधार आउने बताइएको छ ।
 
पश्चिमी वायुको प्रभावले वर्षाको पनि सम्भावना रहेकाले तुवाँलो हट्ने मौसमविद् बासीले बताइन् । उनले तत्कालै ठूलो वर्षा र हावा हुरी चल्ने मौसमी प्रणाली नरहेकाले मौसम पूर्णरुपमा सुधार हुन अझै केही समय लाग्ने जानकारी दिईन्।
 
अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन अपिल
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि मौसममा आएको परिवर्तनसँग काठमाडाँै उपत्यकाभित्रको वायु प्रदूषण बढेकाले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ । वायु प्रदूषणले स्वास्थ्यमा विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक कामवाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न गर्न र शरीर पूरै ढाकिने गरी लुगा लगाएर मात्र निस्कन मन्त्रालयले आह्वान गरेको छ ।
 
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले वायु प्रदूषणले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन गम्भीर असर पर्न सक्ने सम्भावना रहेको जानकारी दिए । प्रदूषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा गाह्रो हुने समस्या बृद्धि भएको छ ।  साथै दीर्घकालीनरुपमा मुटु र फोक्सोको समस्या बढ्ने, स्नायु प्रणालीमा असर पर्ने बालबालिकाको वृद्धिविकासमा असर गर्ने र क्यान्सरको समस्या हुने उनले बताए।

५ बर्ष अगाडि

प्रतिक्रिया