सभा समारोह र भेला आयोजना नगर्न जिल्ला प्रशासनको आग्रह

५ बर्ष अगाडि

कास्की- जिल्ला प्रशासन कार्यालय कास्कीले पछिल्लो समय भारतलगायत छिमेकी देशमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै अनावश्यक सभा समारोह, सम्मेलन र  भेला आयोजना नगर्न आग्रह गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबारको बैठकपछि प्रशासनले साँझ सूचना जारी गरी कोभिड–१९ नेपालमा पनि बढ्नसक्ने भएकाले सोको नियन्त्रणका लागि विभिन्न छ बुँदे निर्देशन जारी गरेको छ ।

प्रशासनले नजिकँदै गरेको होलीपर्वलगायत चाडपर्व मनाउँदा र अत्यावश्यकबाहेक गोष्ठी, भेला, कार्यक्रम गर्दा भीडभाड नगरी अनिवार्य जनस्वास्थ्यको पालना गर्न आग्रह गरिएको छ ।

यसैगरी क्वारेन्टिन तथा आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने, सरकारी तथा गैरसरकारी संस्था, व्यावसायिक प्रतिष्ठान, होटल, रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्थामा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गराउने र सुरक्षित तवरले सेवा प्रवाह मिलाउन आग्रह गरिएको छ ।

मास्कको अनिवार्य प्रयोग, स्यानिटाइजर, भौतिक दूरी कायम गर्न आग्रह गर्दैै प्रशासनले होटल रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा समेत तोकिएको मापदण्डको पालना गर्न भनिएको छ । प्रशासनको आग्रहलाई अवज्ञा गर्ने गराउने व्यक्तिलाई सङ्क्रामक रोग ऐन, २०२० तथा प्रचलित कानूनबमोजिम कारवाही हुने प्रशासनले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया