काठमाडौँ - नक्कली नोटसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । ८४ हजार २ सय रुपैयाँ बराबरको नक्कली नोट सहित महानगरीय प्रहरी वृत्त कालीमाटीले दुई जनालाई कलंकीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंको बाफल बस्ने मकवानपुर गढी घर भएकी ३९ वर्षीया माया तामाङ र कीर्तिपुर नगरपालिका–३ बस्ने रौतहट गुजरा घर भएका ३५ वर्षीय गन बहादुर लोप्चान रहेका छन् ।
माया तामाङले बुधबार कलंकीको फुटपाथ पसलमा तरकारी किन्दा नक्कली नोट दिएको जानकारी प्रहरीमा आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
सोही क्रममा प्रहरीले अनुसन्धान अघि बढाएपछि माया तामाङ पक्राउ परेकी हुन् । तामाङको साथबाट ५०० रुपैयाँ दरले ९ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै थप अनुसन्धान गर्ने क्रममा प्रहरीले लोप्चानलाई पनि पक्राउ गर्यो । पक्राउ परेका गनबहादुरको कोठा तलासी गर्दा १ हजार दरको ५१ थान, ५०० रुपैयाँ दरको ५७ थान, १०० दरको २ थान नक्कली जस्तो देखिने नेपाली नोट बरामद गरेको छ ।
यस्तै १ थान प्रिन्टर मेसिन, फोटो कपी पेपर तथा उक्त नोट बनाउन प्रयोग गरिने मेसिन र जाली जस्तो देखिने नोटलाई सक्कली जस्तो देखाउनका लागि सेक्युरिटी थ्रेड बनाउने कच्चा पदार्थ लगायतका विभिन्न सामानहरू लोप्चानसँग फेला परेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया