काठमाडौं । बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथली हाइटमा एउटा घरको अबलोकन गरे, पार्टी कार्यालयको लागि । नेकपा एमालेको कार्यालय धुम्बाराही समेत नगइ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका बैठकहरु गरिरहेका उनी काठमाडौंकै मुटुमा पार्टी कार्यालय सर्ने भएपछि दंग परे ।
पार्टी कार्यालयको अवलोकन गरेपछि ओलीले भवन आफूलाई मन परेको प्रतिक्रिया दिए । पार्टी अध्यक्ष समेत रहेका ओलीलाई मन परेपछि बैशाख १ गतेदेखि सत्तारुढ नेकपा एमालेको पार्टी कार्यालय थापाथलीमा सर्ने निश्चित भएको छ ।
थापाथली हाइटस्थित उमंग मार्गमा रहेको एमालेको पार्टी कार्यालय बनाउन लागिएको घर ४ रोपनि क्षेत्रफलमा बनेको छ। साढे दुई तले घरमा १६ वटा कोठा रहेका छन्। कम्पाउण्डमा २५ वटा गाडी पार्किङ गर्न मिल्ने क्षेत्रफल छ।
काठमाडौंको मुटुमै यसरी घर उपलब्ध हुँदा खुसी नलाग्ने त कुरै भएन, त्यसमाथी यसको भाडाले पनि पार्टीलाई निकै खुसी बनाएको छ । किनकी पहिला संयुक्त राष्ट्रसंघ बसेको उक्त घरको भाडा जति सकन्छि त्यति मात्र तिर्ने घरको व्यवस्थापन मिलाएका एमाले साँसद तथा उद्योगपति मोतिलाल दुगडले बताए ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रहेका दुगडका अनुसार उक्त घर आफ्ना आफन्त सञ्जय अग्रवालको हो । सम्झौता भइसकेको भए पनि भाडा भने पार्टीले तिर्न सक्ने जति मात्रै लिने उनको भनाई छ।
‘पार्टीले अफोर्ड गर्ने जति मात्रै भाडा लिनुहुन्छ’, उनले भने। यसको मतलव निर्वाचन, महाधिवेशन लगायतका बेला पार्टीको खर्च बढेर घरभाडा तिर्न नसक्ने भयो भने घरको भाडा नै तिर्नुपर्दैन ।
सिंहदरवारबाट र अरु ठाउँहरुबाट पनि पायक पर्ने भएकाले उक्त घरमा पार्टी कार्यालय सञ्चालन गर्न एमालेले ५ वर्षका लागि अग्रवालसँग सम्झौता गरेको छ।
घर बनाएर शुरुमा आफ्नो परिवार बसेको उक्त घर अग्रवाल परिवारले संयुक्त राष्ट्रसंघको कार्यालय राख्न भाडामा लगाएका थिए ।
शुरुमा बल्खु, मदननगरस्थित पार्टी मुख्यालय वि सं २०७२ को भूकम्पले भत्किएपछि यति समूहले धूम्बराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको घर उपलब्ध गराएको थियो ।
मासिक दुई लाख २५ हजार भाडा तिर्नुपर्ने सम्झौता भएको कार्यालयमा जान अहिले चक्रपथ विस्तारका क्रममा धुलोधुवाँले समस्या भएपछि थापाथलीमा जति सक्यो त्यति भाडा तिर्ने (नसकेकाे अवस्थामा नतिर्ने) गरी कार्यालय उपलब्ध गराउने व्यक्ति को हुन् ? सबैको जिज्ञासाको विषय रहेको छ ।
काठमाडौंको मुटु थापाथलीको घर जति पैसा तिर्न सक्यो त्यति तिर्ने गरी पार्टी कार्यालयलाई भाडामा दिने व्यक्तिको ठूलै आर्थिक श्रोत छ कि भोली कुनै स्वार्थका लागि घर भाडामा दिएका हुन्, त्यो भने खुल्न बाँकी नै छ ।
प्रतिक्रिया