क्याम्पसको जग्गा खाली गराउन चुनौती

५ बर्ष अगाडि


छामको बयलपाटाबाट पन्ध्र वर्ष अगाडि परिवारसहित तराई झरेका भीमबहादुर लुहार भूमिहीनलाई सरकारले जग्गा उपलब्ध गराउने भएपछि खुशी छन्  । जति खुशी भीमबहादुरमा छ चिन्ता पनि त्यति नै छ ।उनी  आफू बस्दै आएको कैलालीको टीकापुर बहुमुखी क्याम्पसको जग्गा खाली गर्नुपर्ने हो कि भन्ने चिन्तामा  छन्। 

“आजसम्म जग्गाधनी पुर्जा पाउने आशामा बसियो । नेताहरूले त्यही आश्वासन दिएर कैयौँ पटक चुनाव पनि जिते”, भीमबहादुरले भने , “बसेको जग्गा छोडेर जानसक्ने अवस्था पनि छैन । सरकारले व्यवस्थापन गरेको ठाउँमा जाने विकल्प पनि छ ।” उनले अहिले शिविरमा करीब तीन कट्टा जग्गा ओगटेको छ ।

यो समस्या शिविरमा बस्ने भीमबहादुरको मात्रै हैन । लालबहादुर कामीको उस्तै अवस्था छ । उनि २०६३ सालमा सुर्खेतको तातोपानीबाट आएर त्यही शिविरमा बस्दै आएका छन् । सुर्खेतको आफ्नो जमीन बाढीले बगाएपछि स्थानीय निकायको सिफारिससमेत बोकेर टीकापुरको एकतानगर शिविरमा लालबहादुर पुगेका छन् । 

शान्ति सुनारको टीकापुर नगरपालिका–८ मा एक बिघा जग्गा थियो । अहिले त्यो सबै बगर बनिसकेको छ । जग्गासंँगै रहेको घर पनि बाढीमा बगेपछि अतिक्रमणमा परिरहेको त्यही क्याम्पसको जग्गा शान्तिका लागि आश्रय बन्यो । 

त्यस्तै, २०६१ साल चैत २४ गतेदेखि अतिक्रमण शुरु भएसँगै सोही ठाउँमा बस्दै आएको जगत सुवेदी  बताउछन्  । “२०६२ जेठ २ गतेदेखि जग्गाको माग गर्दै हामी कैलाली जिल्लासम्म पुगेका थियौँ ।” जगतले भने , “२०६३ सालमा टीकापुर विकास समितिले क्याम्पसका नाममा जग्गा दियो । हामी बस्दा यो जग्गा विकास समितिकै नाममा थियो ।” उनले अहिलेसम्म शिविरमा क्याम्पस प्रशासन आउन नसकेको भन्दै अहिले उठ भन्दैमा उठेर बाहिर जान सक्ने अवस्था स्थानीयवासीको नरहेको बताए  । सुवेदीले नेपाली कांग्रेसको नेतृत्वमा शिविर बसेको बताउँदै त्यसको संरक्षण तत्कालीन समयमा माओवादीले गरेको बताए ।

अर्का स्थानीय दिनेश नगर्जीले ठूलो त्याग, तपस्यापश्चात् आधारभूत आवश्यकताहरू पूरा हुँदै गएको अवस्थामा शिविर खाली गरी सरकारले व्यवस्थापन गरेको ठाउँमा जान नसकिने बताए । “सरकारले नदीको किनार, जङ्गलको छेउछाउ, सीमा क्षेत्र आसपास व्यवस्थापन गर्दा त्यहाँ हामी जान सक्दैनौँ”, दिनेशले  भने “नागरिकहरूले आफ्नो खुन पसिना बगाएर कमाएको लाखौँ खर्च गरेर बस्ने व्यवस्था गरेका छन् । अहिले यो सबै उठाएर हामी कसरी जान सक्छौँ ”

त्यस्तै, धनञ्जय तिमिल्सिनाले यदि सरकारले उचित ठाउँमा व्यवस्थापन गरेको अवस्थामा त्यहाँ आवाससहितको व्यवस्था गर्न सकेमात्र केही सोच्न सकिने बताउँदै यही अवस्थामा बसेको ठाउँ छोडेर जान नसकिने बताए । “हामीले चैत–वैशाखको हुरी, बर्सातको डुबानसँगै पुस–माघको कठ्याङ्गिँदो  चिसो यही शिविरमा काटेका छौँ”, तिमिल्सिनाले भने, “अब हामी यहाँबाट जान सक्दैनौँ । बरु, ज्यान जाला, उठाउन आउनेसँग प्रतिकार गर्छौँ ।”

यस विषयमा टीकापुर नगरपालिका–१ का वडाध्यक्ष गङ्गाराम आचार्यले क्याम्पसको जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीलाई सरकारले जुनसुकै ठाउँमा सारे पनि त्यहाँ जानुपर्ने बताएका छन् । “अर्काको मातहतमा रहेको जग्गामा बस्छौँ भन्नु गलत हो । वास्तविक सुकुम्बासीको पहिचान गरी सरकारले व्यवस्थापन गर्छ”, आचार्यले  भने । वडाध्यक्ष आचार्यले क्याम्पसले जग्गा उपलब्ध गराउन नसकिने भएकाले सुकुम्बासीले ठाउँ खाली गर्नुको विकल्प नभएको बताए ।

क्याम्पस प्रशासनले यसअघि नै जग्गा खाली गराउने विषयमा स्थानीय सरोकारवालाहरूसँग छलफल गरिसकेको छ । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा रहेको टीकापुर बहुमुखी क्याम्पसले अहिले कृषि विज्ञान सङ्काय सञ्चालनमा ल्याएको छ । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका लागि र भोलि कृषि विश्वविद्यालयका रुपमा स्तरोन्नतिका लागि पनि जग्गा अझै कम हुने भन्दै अतिक्रमित जग्गा खाली गराउन क्याम्पस प्रशासनले आग्रह गर्दै आएको छ ।  

टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको ३०० बिघा जग्गा सुकुम्बासीको नाममा अतिक्रमण भएको छ । त्यो अतिक्रमित जग्गामा स्थानीयवासीको पहलमा आधारभूत विद्यालय सञ्चालनमा छ । विद्युत् सेवा टीकापुर नगरपालिकाको समन्वयमा विस्तार भएको स्थानीयवासी बताउँछन् । आवश्यक सार्वजनिक संरचनाहरू स्थानीयवासीकै पहलमा निर्माणसमेत भएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया