काठमाडौं - मालपोत कार्यालय भरतपुरका कर्मचारीले एक करोड बढि राजस्व हिनामिना गरेका छन् । उनले राजस्व खातामा जम्मा गर्नुपर्ने रकम नक्कली छाप तथा दस्तखत र बिल भर्पाई बनाई हिनामिना गरेका हुन ।
भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको थियो । मालपोत कार्यालयका तत्कालीन लेखा अधिकृत परियारलाई अहिले चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले शुक्रबार परियारलाई पुर्पक्षका लागि भरतपुर कारागार पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ ।
परियारलाई जिल्ला प्रहरी कार्यालयबाट भरतपुर कारागार पठाइएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए । सरकारी वकिल कार्यालयले सात वर्ष कैद माग दाबी गर्दै जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरेको थियो ।
परियारले सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भर्पाई गरी रु एक करोड १७ लाख २४ हजार ५३८ हिनामिना गरेको आरोप छ ।
प्रतिक्रिया