खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागमतिले दोस्रो चौमासिकसम्म विभिन्न शीर्षकमा रु तीन लाख ३२ हजार ७५० राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु पाँच लाख ४० हजार ७६० राजस्व सङ्कलन भएको र बेरुजु नरहेको कार्यालयले जनाएको छ ।
कार्यालयले आवश्यकतानुसार कार्यक्षेत्रमा अनुगमन, खाद्य तथा दाना नमूना सङ्कलन तथा विश्लेषण, सूचना सन्देश प्रचारप्रसार, खाद्य तथा दाना अनुज्ञापत्र सिफारिस तथा जारी र नवीकरणका काम गर्दै आएको छ ।
कार्यालयका अनुसार खाद्य स्वच्छता अभियानमा होटल लोगो स्तरीकरण तथा नवीकरण, सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम र दूध, तेल तथा पानी उद्योगको अनुगमन गरिँदै आएको छ ।
सो अवधिमा कार्यालयले विभिन्न खाद्य समूहका ३५ अनुज्ञापत्र जारी, ४३ नवीकरण, ११० सिफारिस गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिए ।
नेपालको तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत विसं २०३२ मा क्षेत्रीय खाद्य प्रयोगशालाको नामबाट मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्र परिसरमा यस कार्यालयको स्थापना भएको थियो ।
क्षेत्रीय कार्यालयहरुको अवधारणाअनुरुप नेपाल सरकार, कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत देशका पाँचै विकास क्षेत्रमा रहेका तत्कालीन क्षेत्रीय प्रयोगशालाको पुनः नामाकरण २०६० मङ्सिर ४ को मन्त्रिपरिषद् र २०६० चैत २३ को सामान्य प्रशासन मन्त्रालयको निर्णयानुसार क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको रूपमा नामाकरण भई कार्यसञ्चालन गर्दै आएको थियो ।
तत्कालीन क्षेत्रीय खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको कार्यक्षेत्रअन्तर्गत धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर र चितवन गरी नौ जिल्ला रहेका थिए । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र चितवन गरी छ जिल्लामा खाद्य निरीक्षक एकाइसमेत स्थापित भई कार्यसञ्चालनमा रहेका थिए ।
वि.सं २०७५ असार ३२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट विभागको पुनःसंरचना तथा विस्तार भई हाल यस कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका रूपमा कायम छ ।
प्रतिक्रिया