काठमाडौं - हेटौँडास्थित हेटौँडा उपमहानगर–५ का वडाध्यक्ष राजेश बानियाँले आफ्नो सेवा सुविधावापतको रकमबाट केही रकम सामुदायिक विद्यालयलाई सहयोग गरेका छन् ।
आफ्नो वडाभित्रमा रहेको लक्ष्मी आधारभूत विद्यालय र बालज्योति माध्यमिक विद्यालयलाई तत्कालका लागि फागुन महिनाको प्राप्त पारिश्रमिक रु २८ हजार ७१० प्रदान गरेका हुन् ।
उपमहानगरबाट फागुन महिनाको प्राप्त पारिश्रमिक रकममध्ये बालज्योतिलाई रु २० हजार र लक्ष्मी आधारभूतलाई अरु रु आठ हजार ७१० प्रदान गरिएको वडाध्यक्ष बानियाँले बताए ।
बालज्योति माविका प्रअ भरतप्रसाद अर्यालले प्राप्त रकम विद्यालयमा रहेका न्यूनदृष्टियुक्त विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री, सङ्गीतका सामग्री र शिक्षकमा खर्च गरिने जानकारी दिए ।
सो विद्यालयमा ७ देखि २१ वर्ष उमेर समूहका १७ जना न्यूनदृष्टियुक्त विद्यार्थीलाई अध्यापन गराउँदै आएको प्रअ अर्यालले बताए ।
त्यस्तै, प्राप्त रकम नर्सरी र केजीका विद्यार्थीको शैक्षिक गुणस्तरका लागि खर्च गरिने लक्ष्मी आधारभूत विद्यालयका प्रअ रामहरि मैनालीले बताए । वडाध्यक्ष बानियाँले यसअघि वडाभित्रका ६२ घरपरिवारका सदस्यलाई रु एक लाख ५६ हजारको स्वास्थ्य बीमा गरिदिएका छन् ।
चुनावी बेलामा सरकारबाट प्राप्त सेवा सामाजिक सेवामा खर्च गरिने भनी प्रतिबद्धता अनुरुप माघ महिनासम्मको रकम विभिन्न सामाजिक सेवामा खर्च गरिएको र फागुन महिनाबाट वडाका दुई सामुदायिक विद्यालयलाई प्रदान गरिने वडाध्यक्ष बानियाँले बताए ।
उनले आफ्नो स्व बुबा वीरेन्द्रबहादुर बानियाँको स्मृतिमा सामुदायिक प्रहरी सेवा पशुपतिनगरलाई एम्बुलेन्स खरीद गरी प्रदान गर्ने तयारी गरेका छन् । सङ्घ संस्थालाई मात्र होइन व्यक्तिलाईसमेत वडाध्यक्ष बानियाँ विभिन्न सहयोग गर्दै आएका छन् ।
उनले व्यक्तिगत खर्चमा बालज्योति विद्यालयलाई भवन निर्माणका लागि रु १५ लाख सहयोग पनि गरेका छन् ।
प्रतिक्रिया