माध्यमिकी मेलाका लागि सार्वजनिक बिदा

५ बर्ष अगाडि

काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा) का लागि सार्वजनिक बिदा घोषणा गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज बुधबार परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो । 

मिथिला माध्यमिकी यात्राको पाँचौँ दिन आज राम–सीताको डोलासहितका यात्री रात्रिविश्रामका लागि जलेश्वर आउने क्रम एकाबिहानैदेखि शुरु भएको छ । मिथिला माध्यमिकी परिक्रमा यस भेगको महान धार्मिकयात्रा र लोक परम्परा भएको हुँदा उत्सव मनाउन सार्वजनिक बिदा घोषणा गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । 

हजारौँ नरनारी र साधुसन्तसहित आफ्नो नगरमा रामसीताको डोली बोकेर आउने हुँदा अतिथि स्वागत र डोलाको दर्शनका लागि सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले पुष्टि गर्नुभयो ।

जलेश्वरमा आज बिहानैदेखि माध्यमिकी परिक्रमाका यात्री जलेश्वर आइपुग्ने क्रम शुरु भएको छ । जिल्लाको मटिहानीमा चौथो दिनको रात्रिविश्राम गरेका यात्री सात किलोमिटर दूरी छिचोल्दै सूर्योदयसँगै जलेश्वर आइपुग्ने क्रम देखिएको हो । 

सबै यात्री बिहान एकै समयमा उठ्ने र नित्यक्रियाबाट निवृत्त हुने समय फरक पर्दा बिहानदेखि मध्याह्नसम्म यात्री आउने क्रम जारी रहने जलेश्वरको मटिहानीचोकका होटल सञ्चालक धर्म शर्मा बताउनुहुन्छ । अहिले जलेश्वरदेखि मटिहानीसम्म अटुट मानवपङ्क्ति देखिँदोछ ।

जलेश्वरमा आइपुग्ने यात्री श्रीजलेश्वरनाथ महादेवको दर्शन गरेर परिक्रमा पोखरी (यात्री बस्ने ठाउँको नाउँ) मा जम्मा हुन्छन् । रामसीताको डोला राखिनासाथ दर्शन गर्नेको भीड लाग्छ । डोला आइपुगेपछि भोलिपल्ट अघिल्लो यात्रामा ननिस्कुनञ्जेल नाचगान, भजनकीर्तन र खेलतमासाको मेला उत्सव रहने रात्रिविश्रामस्थलको पुरानो परम्परा हो ।

गत शनिबार फागुन औँशीका दिन धनुषाको ठेराकचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली चौथो दिन मटिहानी आएपछि महोत्तरीको यात्रा प्रारम्भ भएको हो । अब आज पाँचौँ दिन जलेश्वरमा रात्रिविश्रामपछि छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको बासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।

जम्मा १३३ किलोमिटरको यो यात्रामा महोत्तरीका पाँच, धनुषाका छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिविश्रामस्थलको स्थापित मैथिल परम्परा छ । फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा सम्पन्न गरेपछि माध्यमिकी परिक्रमा सम्पन्न गरेर हिन्दू मैथिलले त्यसको भोलिपल्ट फागु (होली) पर्व मनाउनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया