वालिङले सञ्चालन ल्यायो ‘विपद् पोर्टल’

५ बर्ष अगाडि

काठमाडौं - स्याङ्जाको वालिङ नगरपालिकाले विपद् व्यवस्थापनमा जोड दिँदै ‘विपद् पोर्टल’ सञ्चालनमा ल्याएको छ । 

विपद्सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन गर्ने, प्रविष्टि गर्ने र प्रतिवेदनमा संलग्न जनशक्तिलाई पोर्टल प्रयोग गर्न सहजीकरण गर्ने, विपद् व्यवस्थापनसम्बन्धी तथ्याङ्कलाई एकरूपता प्रदान गर्न उक्त पोर्टल सञ्चालनमा ल्याइएको हो । 

नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनीयर प्रकाश अर्यालका अनुसार युथ इनोभेसन ल्याब प्रालि काठमाडौँको प्राविधिक सहयोगमा निर्माण गरिएको पोर्टलको प्रयोगले जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ । 

‘विपद् पोर्टल’ एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली हो । यो पोर्टल नेपाल सरकारको गृह मन्त्रालयले आरम्भ गरेको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्वामित्वमा रहेको बताइएको छ । 

‘विपद् पोर्टल’ मा विपद्सम्बन्धी विभिन्न विधाका सूचना तथा तथ्याङ्क एकीकृत गरी व्यवस्थापन गरिन्छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यका लागि सूचना तथा तथ्याङ्कको आवश्यकतानुसार प्रयोग गर्न सकिने छ । 

स्थानीय तहमा रहेका स्रोत र साधन, घटनाको विवरण, क्षतिको विवरण आदिको जानकारी दिन र लिन सकिने गरी सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थापन गरिएको ल्याबका निर्देशक खतिवडाले बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया