बाघ गाउँमा पस्न थाल्यो, के गर्दै छन् स्थानीय ?

५ बर्ष अगाडि

काठमाडौं - बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ । 

त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो । 

बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन् । बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, गोला, पशुपतिनगर क्षेत्रमा यतिखेर बाघले आतङ्क मच्चाएको स्थानीयको भनाइ छ । 

“दुई महिनायता मात्र धेरैका गाई, भैँसी र बाख्रा बाघले खाएको छ भने केही दिनअघि मात्र घोठियामा एक जनाको बाघको आक्रमणबाट ज्यान गएको छ”, गेरुवा–४ तीनघरुवाकी नम्रता खनालले भने, “गोठमै आएर बाख्रा खान थालेपछि मानिसमा त्रास बढ्नु स्वभाविकै हो ।” 

बिहीबार मात्र तीन घरुवामा एकजनाको गोठमा बाख्रा खायो र भैँसीको कान चिथोरेको खनालले बताए । “बाघ गहुँ खेतीमा लुकेर बसेको छ की भन्ने डरले दिउँसो पनि हिँड्न गाह्रो छ”, खनालले भने, “साँझ ६÷७ बजे गाउँमा हिँडडुल गर्न सकिँदैन, साँझ आफन्तकहाँ गएर ढोका खोलाउन गाह्रो हुन्छ ।”

स्थानीयले वन्यजन्तु गाउँमा आउन नदिन तारबारलगायत अन्य उपाय गर्दै आएका थिए । स्थानीयको प्रयास असफल भएपछि उनीहरु निकुञ्ज र सरकारप्रति आक्रोशित भएका छन् । 

बाघको आतङ्क बढेपछि स्थानीय महिलाको समूहले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । ज्यानको सुरक्षा गर भन्दै स्थानीय महिला गाउँपालिकाको कार्यालयमा घेराउ गर्न गएको स्थानीय भरतबहादुर स्वाँरले बताए । “बाली हेर्न र लगाएको आलु लिन गाउँ गएको थिए, डरले दुई रात पनि गाउँ बस्न सकिएन”, स्वाँरले भने, “६÷७ बजे घरभित्र पसिहाल्नुपर्दो रहेछ । रातभर बत्ती बालेर त्रासमा रात काँटे ।”

निकुञ्जसँग जोडिएको सीमा करिब ३५ किलोमिटर भए पनि यसपटक १८ देखि २० किलोमिटरमा काम हुने भएको छ । यति क्षेत्रमा तारबार भएपछि धेरै राहत हुने स्थानीयको भनाइ छ । 

वन्यजन्तुले घरपालुवा जनावर मारे गाउँपालिकाले राहत रकम दिने गरेको छ भने निकुञ्जले पनि केही रकम दिँदै आएको छ । गाउँपालिकाले भैँसीका लागि रु १० हजार, गाई गोरु र बाख्राका लागि रु पाँच हजार राहत दिने गरेको छ । 

बाघको आक्रमणबाट बर्दियामा चालु आर्थिक वर्षको अहिलेसम्म आठको मृत्यु भइसकेको तथ्याङ्क प्रहरीसँग छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया