पशुपतिमा विशेष पूजाबाट वार्षिक रु. ९ देखि  १० करोडसम्म आम्दानी

५ बर्ष अगाडि

 काठमाडौं-  पशुपतिमा कोरोनाकालमा रोकिएको विशेष पूजा पनि कोषले फागुन २५ देखि शुरु गरेको छ । कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि तय गरेको छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि रु १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करिब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको डा मिलनकुमार थापाले बताए ।

हाल रु एक हजार १०० देखि रु २७ हजारसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो । महाशिवरात्रिका अवसरमा बिहीबार भने रु पाँच हजार १०० र रु ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गरिएको थियो । महाशिवरात्रिका दिन रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नेबाट दुई जना र रु ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चार कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया