काठमाडौं – बीमा समितिले २/३ बर्षअघि नै अब नयाँ बीमा कम्पनीलाई लाइसेन्स नदिने भनेर निर्णय गरेको हो । तर, बजारमा नयाँ निर्जीवन बीमा कम्पनी स्थापना गर्ने गरि तयारी अगाडि बढाइएको छ ।
बीमा समितिको पुर्व कर्मचारीबाट नै नयाँ कम्पनी स्थापना गर्ने तयारी गरिएको हो । बीमा समितिका पुर्व कार्यकारी निर्देशक श्रीमान कार्कीले जेन्यून नामक नयाँ निर्जीवन बीमा कम्पनी स्थापना गर्ने तयारी गरेका हुन् ।
सम्भवत उनी समितिमा कार्यकारी निर्देशक हुदाँ नै नयाँ बीमा कम्पनीलाई लाइसेन्स नदिने भनेर निर्णय भएको थियो । तर, अहिले उनले नै नयाँ कम्पनी स्थापना गर्ने तयारी गरेका छन् ।
हाल लाइसेन्स दिन बन्द गरिएपनि समितिलाई मनाएर पुनः लाइसेन्स खुलाउन पहल गरिने कम्पनीले पक्षले बताएको छ । साथै, कम्पनी स्थापनाको तयारी पनि करिब करिब पुरा भएको बताइएको छ ।
बिशेषगरि स्वास्थ्य बीमालाई प्राथमिकता दिएर स्थापना गर्ने भनिएको यस कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँको हुनेछ । त्यसमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको शेयर हिस्सा हुनेछ ।
संस्थापक शेयरतर्फ ४० करोड बराबरको शेयर निजी क्षेत्र तथा व्यक्तिलाई दिइने छ । उनीहरूलाई न्यूनतम रू. ५ लाखदेखि रु. १ करोडसम्म लगानी गर्ने पाउने योजना गरिएको छ । हाल यसतर्फको लगानी करिब जुटिसकेको छ ।
यस्तै, कम्पनी पक्षले सुचिकृत संस्थाहरुलाई पनि लगानी गर्न प्रस्ताव पेश गरेको छ । सुचिकृत संस्थाहरुले यस्तो बिषयमा लगानी गर्न बोर्ड मार्फत नै लगानी गर्नुपर्ने हुन्छ । त्यसैले गर्दा उनीहरुबाट आधिकारीक रुपमा लगानीको प्रतिवद्धता आएको छैन । तर, मौखिक रुपमा भने लगानी गर्ने आश्वासन आएको छ ।
बाँकी रहेको ३० प्रतिशत शेयर भने आईपीओ जारी गरि सर्वसाधारणबाट उठाइने छ ।
कम्पनी स्थापनाको आन्तरीक तयारी पुरा भएपछि बीमा समितिमा सैद्धान्तिक स्वीकृतिको लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि मात्र उक्त कम्पनी कम्पनी रजिस्ट्रर कार्यलयमा स्थापन गर्न सकिन्छ । त्यसपछि कम्पनीले अन्य पुर्वाधारहरुको तयारी गरेपछि बीमा समितिले कारोबारको लागि अन्तिम स्वीकृति दिन सक्नेछ । तर, हाल समितिले नयाँ कम्पनी थप गर्ने अडान लिएर बसेको छ । यो अवस्थामा यो कम्पनीले पुर्णता पाउछ भन्ने बिषयमा अन्योल नै देखिएको छ ।
प्रतिक्रिया