कर्मचारीको चरम लापरवाहीका कारण लोडसेडिङ, दैनिक २० घण्टा जान्छ बत्ति

५ बर्ष अगाडि

काठमाडौं - हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन । 

विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ । 

एक कार्यालय प्रमुखबाहेक अन्य कर्मचारी सबै स्थानीयवासी भएका कारण मर्मतमा चासो नदिँदा समस्या भएको हो ।

विद्युत्गृहमा पानीको स्रोत कम हुँदा विद्युत् उत्पादन क्षमतामा पनि ह्रास आएको र लोडसेडिङ दैनिकरूपमा बढ्दै गएको विद्युत् प्राधिकरण कार्यालय सिमकोटले जानकारी दिएको छ । 

हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घण्टा लोडसेडिङ गर्दा सिमकोटमा सञ्चालित व्यवसाय धरापमा परेका छन् । विद्युत् आपूर्ति नभएपछि फर्निचर, इलेक्ट्रोनिक्सका सबै व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको छ ।

 सिमकोटमा यस्ता फर्निचर व्यवसाय सातवटा भएको र लोडसेडिङ बढेपछि ती सबै बन्द गर्नुपर्ने अवस्था आएको सिमकोटमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गरिरहेका नन्द सिंहले जानकारी दिए ।

त्यसैगरी मोबाइल मर्मत सेन्टर पनि बत्तीको समस्या भएपछि बन्द गर्नुपरेको नन्द मोबाइल सेन्टरका सुनमति सिंहले गुनासो गरे । दैनिक चार घण्टा बत्ती आउने त्यो पनि बढी समय राति आउने भएका कारण मर्मतका लागि आउने सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहँदै आएको सिंहले बताए । 

दैनिक लोडसेडिङको समय बढ्न थालेपछि तीन दर्जन यससँग सम्बन्धित व्यवसाय मर्कामा परेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया