आज शिवरात्रि, यस्तो छ सवारी रुट

५ बर्ष अगाडि

काठमाडौं - आज शिवरात्रि पर्व आराध्यदेव पशुपतिनाथको पूजा गर्न देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आउँछन् । 

भक्तजनहरु काठमाडौं ओइरिँदा पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा अत्यधिक चाप बढ्छ । त्यसैले यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएर सार्वजनिक गरेको छ ।

आज काम विशेषले घर बाहिर निस्कन्दा वा पशुपतिनाथ दर्शनका लागि जाँदै जादा महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्धारण गरेको सवारी रुट, पार्किङ क्षेत्रलगायतका विषयमा पनि जानकारी लिन जरुरी छ ।

आज चक्रपथ चल्ने यातायात सेवा सुचारु राख्ने निर्णय महाशाखाले गरेको छ । यद्यपि दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने महाशाखाले जनाएको । चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने छ ।

यसैगरी द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुबहादलबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशालातर्फ पनि गाडी चलाउन निषेध गरिने ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसैगरी मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन पनि निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

दर्शनार्थी र तिर्थयात्रीहरुका लागि सिफलचौर र तिलगंगामा पार्किङको व्यवस्था मिलाइएको छ ।

यसैगरी देवउद्यानस्थित पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारि पार्किङ स्थान तोकिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया