काठमाडौं - ललितपुर महानगरपालिका–१६ मा रहेको कुमारी निवास पुनःनिर्माण हुने भएको छ ।
रत्नाकर महाविहारका सदस्य करुणारत्न बज्राचार्यले कुमारी निवास पुनःनिर्माण गर्न लागिएको बताए ।
उनले भने, “कुमारीलाई पूजा गरिने कुमारी छें अर्थाक कुमारी घर गोरखा भूकम्पले जीर्ण बनाउँदा संरक्षण गर्ने कुरा अघि बढेको छ ।”
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भारत सरकारको अनुदानमा रु चार करोड ५५ लाखमा उक्त काम अघि बढाइने भएको बताए ।
उनले भने, “सो घर निर्माण हुने भएसँगै कुमारीलाई भने नजिकै रहेको रत्नाकर महाविहारमा राखेका छौं ।” कुमारीलाई महालक्ष्मीका साथै महादेवीका रुपमा पुजिने गरिएको बज्राचार्यले जानकारी गराए ।
लिच्छविकालीन समय गुणकामदेवको पालादेखि ललितपुरमा कुमारी स्थापना गर्ने चलन रहेको बज्राचार्यको भनाइ छ ।
कुमारीलाई मन्दिर बनाएर शिलामा जीवित देवीका रुपमा समेत पुज्ने गरिन्छ । नेवार समुदायका मानिसले कुमारीलाई हरेक वर्ष रातो मच्छिन्द्रनाथ जात्राका साथै बुद्धजयन्ती अनि ठूला ठूलामा जात्रामा पनि पुज्ने गर्छन् ।
सरकारले पहिचान गरेका २८ सांस्कृतिक सम्पदाको संरक्षण र पुनःनिर्माण अन्तर्गत सो कुमारी निवास र कुमारी छें संरक्षणमा ध्यान दिइएको हो ।
प्रतिक्रिया