काठमाडौं - धार्मिक पर्यटकीयस्थल व्यास परासर क्षेत्रको विकास गर्ने उद्देश्यले दमौलीमा महर्षी वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण गरिने भएको छ ।
व्यास नगरपालिकाको प्रस्तावमा पर्यटन मन्त्रालयमा प्रस्तावितमा सहभागितासमेतको रु सात करोड सात करोडको प्रस्ताव स्वीकृत भएपछि उक्त मूर्ति निर्माण गरिन लागेको हो ।
सरकारको रु चार करोड ५५ लाख र व्यास नगरपालिकाको रु दुई करोड ४५ लाख लागत सहभागिता स्वीकृत भएको व्यासनगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
उनकाअनुसार रु आठ करोड १४ लाख पाँच हजार ८१ रुपैयाँ १९ पैसाको टेण्डर प्रक्रिया तीन दिनभित्र प्रकाशन हुनेगरी प्रक्रिया अघि बढाइएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको बैठकले विविध विषयमाथि छलफल गरी निर्णयसमेत गरेको छ ।
नगरपालिका र विभिन्न दाताबाट व्यास –३ व्यास गुफामा निर्माण भएको मानवसेवा आश्रम किरियापुत्री भवन सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ खारेज गरेको छ ।
उक्त भवन सञ्चालन व्यवस्थापन गर्न नागरिकस्तरबाटै समिति बनाइ संस्था दर्ता गरी प्रक्रिया अघि बढाउन व्यास नगरपालिका वडा नं २,३,४ का वडाध्यक्षको परामर्शमा सात जनाको समिति गठन गर्ने निर्णय गरेको छ ।
व्यास–३ निवासी एवं उक्त भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई संयोजनको जिम्मा दिने निर्णय भएको छ । भूमिहीन र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलनसम्बन्धी विवरण भूमिहीन दलित ७२०, भूमिहीन सुकुम्बासी ४७८, अव्यवस्थित बसोबासीको छ हजार १३३ समेत गरी कूल छ हजार ८५३ रहेका छन् ।
सङ्कलित विवरणको छानविन गरी प्रमाणीकरण गर्ने प्रक्रिया सम्बन्धमा भूमिसम्बन्धी जिल्ला समितिका पदाधिकारी सदस्यसँग अन्तक्र्रिया गर्ने र प्रक्रिया अघि बढाउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिकाभित्रका बाढीबाट बिग्रिएका कुलो, बाँध, खेतको पुनःस्थापनासम्बन्धी समितिबाट भएगरेका कार्यको विवरण प्रस्तुत भई अनुमोदन गरेको छ ।
साथै घर निर्माण गर्नुपर्ने बाढीपीडितको तथ्याङ्कलाई पुनःवडागतरुपमा पुनःमूल्याङ्कन गरेर प्रमाणीकरण कार्य गरी राहत वितरणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
प्रतिक्रिया