दमौलीको व्यास –१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले यस वर्ष दुई सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई क्याम्पसले छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीको क्याम्पसले अन्तरवार्ता शुरु गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । अन्तर्वार्तामा कक्षा ११ का १७५ र कक्षा १२ का ९५ विद्यार्थी सहभागी भएको क्याम्पसले जनाएको छ ।
क्याम्पसले हरेक वर्ष कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि करीब रु पाँच लाख खर्चिने गरेको छ । कक्षा ११ र १२ मा यसवर्ष करीब आठ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । दाताबाट स्थापना भएको अक्षय छात्रवृत्ति कोषबाट प्राप्त ब्याज रकम क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले भुक्तान गरेको नियमित मासिक शुल्कको पाँच प्रतिशत रकम र क्याम्पसको रकम छात्रवृतिमा वितरण गरिने छ ।
प्रतिक्रिया