नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले लोकतन्त्र, मानव अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि सरकार र सबै राजनीतिक दललाई आग्रह गेका छन् ।
चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाको १२औँ वार्षिक साधारणसभामा उनले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कसैले पनि आँच पुर्याउने गतिविधि गर्न नहुने बताएका हुन् । महासचिव विष्टले पत्रकारको पनि आम नागरिक तथा राज्यप्रति महत्वपूर्ण जिम्मेवारी हुने भएकाले अझै संवेदनशील भएर कमीकजोरीलाई सुधार्दै लैजानुपर्ने उल्लेख गरे ।
चलचित्र पत्रकार सङ्घ नेपालको सङ्गठन उपाध्यक्ष कुवेर डङ्गोलले चलचित्र छायाङ्कनका लागि मकवानपुरका विभिन्न स्थान उपयुक्त भएको बताउँदै चलचित्रको माध्यमबाट स्थानीय पर्यटन प्रवद्र्धन गर्नुपर्ने सुझाव दिए ।
पत्रकार महासङ्घका केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदीले समाजको अग्रगामी रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण र समाजप्रति जिम्मेवार हुने भएकाले राज्यले पनि पत्रकारिता क्षेत्रप्रति प्रेरणादायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सङ्घका सचिव श्रीराम दाहालले पेश गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन सभाले सर्वसम्मतिले पारित गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, पूर्वअध्यक्ष राममणि दाहाल, भानुभक्त आचार्य, उपाध्यक्ष कुमार अधिकारीले पत्रकारजगत् निकै संवेदनशील हुनुपर्नेमा बताए।
सङ्घका जिल्ला अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घका संस्थापक र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
प्रतिक्रिया