प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई, तीन लाख पुरस्कार

५ बर्ष अगाडि

काठमाडौं - प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार कृष्णबहादुर बस्नेतले जितेका छन् । उनले ४२ दशमलव १९५ किलोमिटर फुल म्याराथन दौड दुई घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । 

सोही स्पर्धामा भारतीय सेनाका तीर्थकुमार पुन दोस्रो भए । उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २७ सेकेण्डमा पूरा गरे । सेनाका सुवेदार होमलाल श्रेष्ठ तृतीय भए । 

उनले निर्धारित दूरी दुई घण्टा २३ मिनेट ३२ सेकेण्डमा पूरा  गरे । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु तीन लाख, रु दुई लाख र रु एक लाख नगद पुरस्कार प्राप्त गरे । 

उनीहरुलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रमाणपत्र, ट्रफी र नगद प्रदान गरे । उपाधि विजेता बस्नेतले यमाहा कम्पनीको एक थान मोटरसाइकलसमेत पुरस्कारस्वरुप प्राप्त गरे । सो पुरस्कारको प्रायोजन मेगा बैंकले गरेको हो । 

फुल म्याराथनतर्फ खगेन्द्र भाटले चौथो, नवराज साउदले पाँचौँ, ज्ञानप्रसाद भट्टराईले छैटौँ, देवराज महतराले सातौँ, सागर बुढाथोकीले आठौँ, रमेश मगरातीले नवौँ तथा प्रेम बस्नेतले १०औँ स्थान प्राप्त गरे । 

यसैगरी हाफ म्याराथनको पुरुषतर्फ नेपाली सेनाका राजेन्द्र राई पहिलो भए । उनले २१ किलोमिटर दौड एक घण्टा ६ मिनेट ३० सेकेण्डमा पूरा गरे । यस्तै सेनाकै राजन रोकाय एक घण्टा सात मिनेट ११ सेकेण्डमा उक्त दूरी पूरा गर्दै दोस्रो तथा सेनाका नरेन्द्र रावलले एक घण्टा आठ मिनेट ४८ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो भए । 

उनीहरुले क्रमश रु ७५ हजार, रु ५० हजार तथा रु ३५ हजार नगद पुरस्कार प्राप्त गरे। सो पुरस्कारको प्रायोजन एनआइसी एशिया बैंकले गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया