हरियाली पार्क निर्माण

५ बर्ष अगाडि

काठमाडौं - म्याग्दीका दुई वटा स्थानीय तहका पर्यटकीयस्थलमा हरियाली पार्क निर्माण गरिएको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरामा पर्ने लम्भीहिल र मङ्गला गाउँपालिका–२ बाबियाचौरमा हरियाली पार्क निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पर्या–पर्यटन कार्यक्रमअन्तर्गत प्रदेश सरकारको रु १८ लाखको लागतमा मङ्गलाको बाबियाचौर तथा रु १२ लाखको लागतमा लभ्लीहिलमा हरियाली पार्क निर्माण भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । 

शहरी क्षेत्रको बढ्दो प्रदूषणबाट बच्न र पर्यावरणको समेत संरक्षण गर्ने उद्देश्यसहित हरियाली पार्क निर्माणको अभियान सञ्चालन गरिएको हो । 

पर्यटकको चहलपहल बढाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको हरियाली पार्कमा विभिन्न प्रजातिका सुगन्धवाल फलफूलका बिरुवा रोपिएका छन् । 

अक्सिजन उत्सर्जन गर्न, पर्यटकलाई वनस्पतिसम्बन्धी विषयमा सूचना दिन र जैविक विविधताको संरक्षण एवं अभिवृद्धि गर्ने उद्देश्यले हरियाली पार्क निर्माण गरिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताए । 

सामुदायिक वन क्षेत्रमा रहेका खाली तथा पाखो जग्गालाई हरियाली बनाई सफा र स्वच्छ हावा लिनका लागिसमेत पार्क निर्माणमा जोड दिइएको छ । 

म्याग्दीको विभिन्न स्थानमा सामुदायिक वनअन्तर्गत खाली जग्गाजमिन र पाखो क्षेत्रलाई उपयोग गर्ने गरी हरियाली पार्क निर्माण गरिएको हो । निर्माण गरिएका पार्कमा दुबो, धुपी, कपुर, अशोक, बुलमहर, कल्कीफूल प्रजातिका सदाबहार हरियाली भइरहने र सुगन्धवाल बिरुवा रोपिएका छन् । 

लभ्लीहिलमा हरियाली पार्क बनाएर विभिन्न प्रजातिका बोटबिरुवा रोपेसँगै पछिल्लोपटक लभ्लीहिल भ्रमण गर्ने आन्तरिक पर्यटक बढ्दै जान थालेको खबराका स्थानीय चन्द्रबहादुर कार्कीले जानकारी दिए । 

मङ्गला गाउँपालिकाले भने गत आर्थिक वर्षमा मङ्गला इन्द्रेणी पार्क निर्माणमा रु २५ लाख बजेट विनियोजन गरेको थियो । बाबियाचौर निवासी क्या इन्द्रबहादुर अधिकारीले करीब चार रोपनी जग्गा निःशुल्क दिएपछि इन्द्रेणी पार्क निर्माण गरिएको छ । 

इन्द्रेणी पार्क पसिरमा दुबो, धुपीलगायत सुगन्धवाल फलफूलका बिरुवा रोपिएको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले बताए । दुवै ठाउँमा निर्माण गरिएका हरियाली पार्कले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको समेत चहलपहल बढाउने अपेक्षा गरिएको छ । 

यसैबीच चालु आर्थिक वर्षमा पनि म्याग्दी जिल्लाको विभिन्न स्थानमा प्रदेश सरकारको आर्थिक सहयोगमा गुराँस पार्क, हरियाली पार्क, रावणपार्क, वनभोजस्थल, साइकल लेन बनाउनेजस्ता योजना रहेका छन् । 

कार्यक्रमअनुसार सामुदायिक वन क्षेत्रको खाली जग्गामा गह्रा निर्माण गरी बगैँचा बनाउने, बोटबिरुवा रोप्ने, वृक्षरोपण गर्ने, शोभनीय खालका नयाँनयाँ बिरुवा लगाउने र बस्न मिल्ने ठाउँ बनाई हरियाली पार्कमा रुपान्तरण गर्ने तयारी अगाडि बढाइएको छ । 

पार्क निर्माण भएपछि यहाँ आउने पर्यटक र बालबालिका तथा वृद्धवृद्धालाई समेत निकै सहज भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया