दमौली जिल्ला प्रहरी कार्यालयले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका १३ प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कर्तव्यज्यान, हातहतियार, लेनदेन, सम्बन्ध विच्छेद, नाता कायम, सवारी ज्यानलगायतका मुद्दाका प्रतिवादी छन् ।
प्रहरीले कर्तव्य ज्यान मुद्दामा विगत २७ वर्षदेखि फरार तनहुँको भानु नगरपालिका–१० का ५२ वर्षीय कुमार पन्थ भन्ने कुमारदेव पन्त, कर्तव्य ज्यान मुद्दामै १५ वर्षदेखि फरार साविक ढोरफिर्दी गाविस– ६ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका बस्ने ६० वर्षीया ज्ञानुमाया नेपालीलाई पक्राउ गरेको छ ।
पन्तलाई जिल्ला अदालतको विसं २०५५ असार ३ गतेको फैसलाले १५ महीना कैद सजाय तोकिएको थियो भने विकलाई सर्वोच्च अदालतले विसं २०६२ साउन ११ गते १० वर्ष कैद सजाय सुनाएको थियो । दुवैलाई निजकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै प्रहरीले नाता कायम मुद्दाका फरार दुई, सम्बन्ध विच्छेद मुद्दाका फरार चार, लेनदेन मुद्दाका फरार दुई, हातहतियार मुद्दाका फरार एक, सवारी ज्यान मुद्दाका फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका प्रतिवादीबाट २१ वर्ष पाँच महिना कैद र रु दुई हजार १८० जरिवाना भुक्तान गर्न बाँकी रहेकाले जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया