प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राईले ताप्लेजुङको दोभानका आगलागी पीडितको पुनःस्थापनामा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् ।
आगलागी क्षेत्रको आज अवलोकन तथा निरीक्षणपछि राहत वितरण कार्यक्रममा उनले तीनवटै तहका सरकार पीडित परिवारको साथमा नै रहेकाले ढुक्क हुन आग्रह गरे ।
आगलागीले घरसहितका सम्पत्ति गुमाएका परिवार र डेरा गरी बसोबास गरेका परिवारको पुनःस्थापना तथा दिर्घकालीन व्यवस्थापनका लागि सबै तहका सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। आगलागी पीडितले राखेका मागलाई सम्बोधन गर्ने आश्वासन दिँदै उहाँले थप आवश्यकता र सहयोगको खाँचो भए जिल्ला प्रशासनका साथै स्थानीय सरकारमार्फत आफ्ना माग समेटेर प्रदेशमा पठाउन आग्रह गरे।
आगलागी पीडित परिवारले दोभान बजारलाई थप व्यवस्थित बनाउन आवश्यक भौतिक संरचनाको विकासका साथै पुनःस्थापना र व्यापार व्यवसाय सञ्चालनका लागि सहुलियत ऋण उपलब्ध गराउन माग गरेका थिए । यस्तै नष्ट भएका सामानमा लाग्ने कर मिनाहा गरिदिन माग गरिएको छ । यता आजै प्रदेश सरकारका तर्फबाट तत्कालका लागि चामल, नुन, तेल, दाललगायत खाद्यान्न सामग्री वितरण गरिएको छ । उक्त सामग्री मूख्यमन्त्री राईले आगलागी पीडितलाई हस्तान्तरण गरेका थिए ।
यस्तै आगलागीबाट घर पूर्ण क्षति भएकाप्रति परिवारलाई नगद रु ५० हजार र डेरा गरी बसेका परिवारलाई नगद रु ३० हजार आर्थिक सहायता प्रदान गरिने मूख्यमन्त्री राईले बताए। आगलागि पश्चात प्रदेश सरकारले गरेको निर्णयअनुसार उक्त सहायता तथा राहत रकम चाँडै जिल्ला प्रशासन कार्यालयका साथै स्थानीय सरकारमार्फत उपलब्ध गराउने उनको भनाइ थियो ।
यसैबीच मूख्यमन्त्री राईसँगै आउनुभएका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार पीडित परिवारको साथमै भएकाले ढुक्क हुन आग्रह गरे। आगलागीको घटनाप्रति दुख व्यक्त गर्दै उनले पीडितको पुनःस्थापनालगायत कार्यमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए।
यता आजै सरकारले उपलब्ध गराएको टेन्ट, कम्बल, खाद्यान्नलगायत सामग्री वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले उक्त सामग्री आगलागी क्षेत्रमा नै पुगेर वितरण गरेको हो । मङ्गलबार भएको आगलागीका कारण ५० घर जलेर नष्ट भएका थिए । आगलागीले रु ४० करोड बढीको क्षति भएको मेरिङ्देन गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया