कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा खानेपानीको संकट चुलिएको छ । प्रयोगमा ल्याइएका पानीका मुहानको सतह घट्न थालेपछि उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो ।
झण्डै २ लाख जनसंख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी रहेको छ । उक्त, जनसंख्यालाई सहज खानेपानीको आपूर्ति गर्नका लागि करिब २७८ लिटर प्रतिसेकेण्ड पानी आवश्यक छ । यद्यपी, हाल प्रयोगमा ल्याइएका स्रोतहरूबाट जम्मा १२८ लिटर प्रतिसेकेण्ड मात्र पानी उपलब्ध भइरहेको छ । जुन आवश्यक परिमाण भन्दा करिब ५४ प्रतिशतले कम हो ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल वीरेन्द्रनगर उपत्यकामा १९ हजार ४६ वटा खानेपानी धाराहरुबाट सेवा प्रवाह भैरहेको छ । उपत्यकामा खानेपानीको आपूर्ति गर्नका लागि झुप्रा खोलाबाट ८६ लिटर प्रतिसेकेण्ड, खरिखोला बोरीखोलाबाट ३० लिटर प्रतिसेकेण्ड, खोर्के खोलाबाट १० तथा बुलबुले काठकुवाँबाट ४ गरेर १५७ लिटर प्रतिसेकेण्ड पानी ल्याइ आपूर्तिको व्यवस्था मिलाइएको छ ।
संस्थाका अध्यक्ष कुलमणि देवकोटाका अनुसार सुख्खा खडेरीको आगमनसँगै खानेपानीको माग दिनानुदिन बढ्दै गइरहेको समयमा प्रयोगमा ल्याएका स्रोतहरु क्रमिक रुपमा घट्दै गएकाले खानेपानीको संकट निम्तिएको हो । उनले भने,‘उपत्यकाको खानेपानी आपुर्ति गर्ने कार्य चुनौतिपूर्ण बन्दै गइरहेको छ ।
उपत्यकामा हाल सञ्चालन भइरहेका सडक,सतह ढल निर्माण जस्ता कार्यले गर्दा दैनिक खानेपानीका पाइपलाइनहरु क्षतिग्रस्त भएका कारण दिनहुँ खानेपानी अवरुद्ध हुने गरेको छ ।’ खानेपानीका स्रोतहरूमा आएको ह्रासका कारण संस्थाले ४८ घण्टाको फरकमा खानेपानीको वितरण गर्दै आइरहेको उनको भनाइ छ ।
उपत्यकाको खानेपानी समस्या समाधान गर्नका लागि कर्णाली प्रदेश सरकार खानेपानी सिंचाइ तथा ऊर्जा विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा वीरेन्द्रनगर नगरपालिका–१४ स्थित रतुमा रहेको दुन्दुरे खोलाको आयोजना निर्माणको काम अघि बढाइएको छ । उक्त, आयोजना आउँदो जेठ मसान्तसम्म सम्पन्न गरिसक्ने लक्ष्य लिइएको अध्यक्ष देवकोटाले बताए । जुन आयोजनाबाट २० लिटर प्रतिसेकेण्ड खानेपानी थपिने छ । यस्तै दीर्घकालिन खानेपानी समस्या समाधान गर्नका लागि संघीय र प्रदेश सरकारको समन्वयमा बृहत भेरी पम्पिङ आयोजनाको सर्वेक्षणको काम सम्पन्न गरि विस्तृत परियोजना प्रस्तावको तयारीको अन्तिम अबस्थामा पुगेको उनले जनाए ।
केही समय अघि यो आयोजनाको नेपाल सरकारका खानेपानी मन्त्री मणिचन्द्र थापाले निरीक्षण समेत गरेका छन् भने यसै आर्थिक वर्षमा ठेक्का खोल्ने लक्ष्य लिइएको छ।
प्रतिक्रिया