खानेपानीको  व्यवस्था नहुँदा खोलाको पानी पिउन बाध्य धारापानी बासि

५ बर्ष अगाडि

खानेपानीको  व्यवस्था नहुँदा कञ्चनपुरका धारापानीगाउँका बासिन्दाले खोलाको पानी पिउन बाध्य रहेका छन्। 
 विसं २०२८ देखि बस्दै आएको शुक्लाफाँटा नगरपालिका–८ धारापानी बस्तीका  २० परिवारले खाना बनाउन, घट्ट चलाउन, लुगाकपडा धुन, गाईवस्तुलाई पानी खुवाउन र पिउनका लागि खोलाको पानी नै प्रयोग गर्दै आएका छन् । 

दशकअघि दार्चुलाको धुलीगडाबाट घर जग्गा सबै पहिरोले लगेपछि विस्थापनमा परेको साइमले धामी परिवार आश्रयको खोजीमा धारापानी गाउँमा बसेको छ । गाउँमा बसेदेखि धामी परिवारले पनि खोलाको पानी पिउनका लागि प्रयोग गर्दै आएका छन् ।

गर्मीका बेला खोला सुक्ने भएकाले चार÷पाँच किलोमिटर टाढाबाट समेत पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको छ ।

खानेपानी र विद्युत्का लागि स्थानीय तहदेखि प्रदेश सरकारका जनप्रतिनिधिसम्म कुरा राखे पनि सुनवाइ अझैसम्म हुन नसकेको स्थानियको भनाई रहेको छ । खानेपानी र विद्युत् अभाव भएको चुरे क्षेत्रको धारापानी बस्तीका बासिन्दाको आवाज सुनेको सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीले बताए ।

उनले चालु आवभित्रै खानेपानीका पाइपको व्यवस्था गर्न प्रतिबद्ध रहेको र बस्तीमै पुगेर अश्वासन दिएको बताएका छन् ।  

चारैतिर नदीले घेरिएको ठाउँमा बस्दै आएका धामी परिवारलाई वर्षात्को उर्लिँदो भेलले बगाउने चिन्तासमेत छ । चुरे क्षेत्रमा पर्दै गएको मानवीय चापले विनास हुन थालेपछि संरक्षणका लागि बस्ती हटाउन दबाबसमेत आउने गरेको छ । विद्यालय र स्वास्थ्यचौकीको सेवा लिन पाँच किलोमिटरको यात्रा तय गर्दै यहाँका बासिन्दा पिताम्बर, पारिफाँटा र झलारीसम्म पुग्ने गरेका छन् ।

वर्षातमा नदीमा पानीको बहाव बढ्दा ती सेवासमेत लिन यहाँका बासिन्दा बञ्चित हुने गरेका छन् । धारापानीमा बस्ती बसेको भए पनि आधारभूत सुविधा नहुँदा विस्तारै बस्ती छाडने क्रम बढदै गएको छ । बालबालिकालाई विद्यालय पढाउनसमेत निकै सास्ती रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया