काठमाडौं - बैतडीमा भारतसँग जोडिएका नाका बन्द हुँदा समस्या भएको छ । पछिल्लो ११ महिनादेखि बन्द भएको नाका अझै खुल्न नसक्दा आवतजावत गर्न नै समस्या भएको हो ।
महाकाली नदीमा डुङ्गाको सहायताले वारपार गर्न बनाइएका निश्चित स्थानहरू नै उक्त नाका हुन् । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि भन्दै महाकाली नदीमा रहेका जिल्लाका तल्लोस्वराडका नाका घाट गत चैतदेखि नै बन्द गरिएका छ ।
शिवनाथ गाउँपालिकाको नागार्जुन घाट र कुस्मौद घाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वर घाट, विनायक घाट र धरमघाट बन्द अवस्थामा छन् ।
घाट बन्द हुँदा भारत जानका लागि दुई दिन लगाएर झुलाघाट नाका भएर जानुपर्ने अवस्था छ । यसका साथै दैनिक उपभोग्य सामानसमेत महँगो खरिद गर्नुपरेको स्थानीयवासी वीरेन्द्र महतले बताए ।
तल्लोस्वराडवासी नाका वारपार गर्नका लागि महाकाली नदीमा डुङ्गा प्रयोग गर्छन् । यसका लागि नदीमा निश्चित स्थान तोकिएका थिए । ती स्थानमा हाल डुङ्गा चल्न छोडेका हुन् ।
उपभोग्य सामानका लागि भारतकै भरमा रहेका स्थानीयवासी हाल समस्यामा परेका हुन् । हालै तल्लोस्वराडमा सडकसञ्जाल विस्तार भएकाले नेपालबाट लगिएको महँगोमा सामान पुग्ने गरेको छ ।
स्थानीय बासिन्दाको समस्यालाई ध्यानमा राख्दै स्थानीय सरकारले घाट खोलिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताए ।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामात्रै हाल सञ्चालनमा रहेको छ । देशव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण सरकारले गत चैतदेखि अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो ।
सरकारले गत माघ महिनादेखि अन्तर्राष्ट्रिय नाका सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया