बागलुङको गलकोट नगरपालिका–४ चमुवाखोलामा पक्की कल्भर्ट निर्माण भएको छ । गलकोट नगरपालिकाको रु २४ लाख बजेटबाट उक्त कल्भर्ट निर्माण भएको हो । नगरपालिकाले चालू आर्थिक वर्षमा सडक सञ्जाल स्तरीकरणअन्तर्गत पूर्वाधार विकासका लागि उक्त सडकमा बजेट विनियोजन गरेको थियो ।
चमुवाखोलामा निर्माण भएको सात मिटर लम्बाइ रहेको कल्भर्ट चार मिटर ५० सेन्टिमिटर चौडाइ तथा तीन मिटर उचाइ रहेको कल्भर्ट निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए । कल्भर्टको दुवैतर्फको सडक करीब १० मिटर फिलिङको काम भएको उनले बताए ।
खोलाको सतहलगायत कल्भर्टको सुरक्षाका लागि दायाँबायाँ गरी २८ वटा जाली निर्माण गरेको जानकारी दिँदै खड्काले कल्भर्टको केही काम र बाटोको सतह पुर्नका लागि केही काम बाँकी भएको भए पनि सञ्चालन गरिएको बताए ।
गलकोट नगरपालिका–४ देखि नुवाकोट हुँदै बरेङ गाउँपालिकाको सुखौरा सल्यान जोड्ने सडकअन्तर्गत चुमवाखोलामा कल्भर्ट निर्माण भएसँगै स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।
गलकोट नगरपालिकाले रु २० लाख तथा स्थानीयरुपमा जनश्रमदानबाट रु चार लाख गरी २४ लाखमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएका कल्भर्टमा फागुन २० गतेसम्म ठूला सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको उपभोक्ता समितिका सचिव डिलबहादुर खातीले जानकारी दिए ।
प्रतिक्रिया