काठमाडौं - गरिब, विपन्न र सुकुम्बासी समुदायको उत्थानका लागि लुमन्ती (सम्झना) ले चितवनको खैरहनीमा परियोजना शुरु गरेको छ ।
खैरहनी नगरपालिकासँग सहकार्य गर्दै यहाँका लक्षित समुदायको विकासका लागि लुमन्तीले समुदायको अगुवाइमा सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सामुदायिक सबलीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
नगरपालिकामा एक कार्यक्रम गरी परियोजनाबारे यहाँका जनप्रतिनिधि र नगरपालिकाका कार्यालय प्रमुख, शाखा प्रमुखलाई जानकारी गराइएको छ ।
तीनवर्षे परियोजनाअन्तर्गत सुकुम्बासी समुदायका लागि आर्थिक, सामाजिक विकास, सशक्तीकरणसहित सुरक्षित आवास निर्माण, भौतिक पूर्वाधार निर्माण र खानेपानी धारा जडानलाई प्राथमिकता दिएर समुदायस्तरका काम गर्ने लुमन्ती कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले जानकारी दिए ।
कार्यक्रममा नगरप्रमुख लालमणि चौधरीले सुकुम्बासी समुदायलाई आत्मनिर्भर बनाउन परियोजनाले मद्दत गर्ने बताए । अरुले दिएर कोही सक्षम हुँदैन नगरप्रमुख चौधरीले भने, “लक्षित समुदायलाई आत्मनिर्भर बनाउन सके नगर समृद्ध बन्छ ।”
परियोजनाबारे जानकारी दिँदै लुमन्ती कार्यक्षेत्र संयोजक लामाले नगरपालिका र लुमन्ती संस्थाको सहकार्यमा सूचना केन्द्र स्थापना गरिने छ । गरिब, विपन्न र सुकुम्बासी समुदायका सम्पूर्ण विवरण समावेश गरेर सूचना केन्द्र स्थापना गर्न लागिएको लामाले बताए ।
सूचना केन्द्रमा सुकुम्बासीको अवस्था, घरधुरी सङ्ख्या, जनसङ्ख्यासहित उनीहरूका लागि गर्नुपर्ने काम र भएका प्रयासका बारेमा विवरण राखिने उहाँले जानकारी दिए ।
प्रतिक्रिया