स्थापना भएको ५ वर्षमा पनि पाएन कार्यालयले कर्मचारी

५ बर्ष अगाडि

काठमाडौं - स्थापना भएको ५ वर्ष बिती सक्दा पनि डोटी जिल्लाको दिपायलस्थित राजपुरमा रहेको यातायात व्यवस्था कार्यालय कर्मचारीको उपस्थित हुन सकेको छैन । 

उक्त कार्यालयमा हालसम्म पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको हो । आठौँ तहका कार्यालय प्रमुख रहने दरबन्दीको संरचनाअनुसार स्थापना गरिएको कार्यालयमा गत साउनदेखि कार्यालय प्रमुख नै छैनन् । 

संरचनाअनुसार आठौँ तहको कार्यालय प्रमुख, छैटौँ तहको अधिकृत एक, पाँचौँ तह एक, चौथो तह एक, मेकानिकल सुपरभाइजर र कार्यालय सहयोगी दुई गरी कूल सात जनाको दरबन्दी रहने कार्यालयमा हाल छैटौँ तहको अधिकृत एक, सहायक पाँचौँ एक, चौथो तह एक र कार्यालय सहयोगी एक गरी जम्मा चार जनामात्रै कर्मचारी रहेको निमित्त कार्यालय प्रमुख चेतराज भट्टले बताए । 

यातयात व्यवसायीलाई सेवा दिने भन्दै कार्यालय खोलिएको तर गाडीको कागजात रिन्युदेखि अन्य सामान्य काम गर्न पनि कैलाली जानुपर्ने अवस्था आएपछि यातायात व्यवसायी आक्रोशित बनेका हुन् । 

त्यस्तै सवारी चालक अनुमतिपत्रका लागि लिइने सीप परीक्षण गर्न र निर्माण गर्न लागिएको ट्रायल सेन्टर निर्माणको काम पनि हालसम्म अधुरै रहेको छ । 

विसं २०७७ जेठ मसान्तसम्म निर्माण भइसक्ने र असारदेखि सवारी चालक अनुमतिपत्र वितरण गर्ने भन्ने लक्ष्यका साथ निर्माण कार्य भएको सेन्टर तोकिएको समयभन्दा आठ महिना बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन । 

कूल रु २७ लाख ८१ हजारको लागतमा दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा निर्माण गर्न लागिएको ट्रायल सेन्टरको गत वर्षको चैत महिनामा तत्कालीन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री पठानसिंह बोहराले शिलान्यास गरेका थिए । 


    
 

५ बर्ष अगाडि

प्रतिक्रिया