एजेन्सी - चीन सरकारले मुलुक गरिबीमुक्त घोषणा गरेको छ । आठ वर्षको अवधिमा सिंगो मुलुक नै गरिबीमुक्त भएको घोषणा गरेको हो ।
राजधानी बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल्स’ मा आयोजित सभामार्फत बिहीबार राष्ट्रपति सी चिनफिङले चिनियाँ विशेषतायुक्त मापदण्डबमोजिम अब चीन चरम गरिबीबाट मुक्त भएको घोषणा गरेका छन् ।
सत्तासीन भएपछि राष्ट्रपति सीले २०१२ देखि नै गरिबी निवारणको लक्ष्यलाई आफ्नो कार्यकालको सबैभन्दा प्रमुख एजेन्डा बनाउँदै आएका थिए । आफ्नो प्रतिबद्धताबमोजिम उनले गरिबीग्रस्त क्षेत्रहरूमा स्थलगत भ्रमण गरेर स्वयं नीति निर्माणमा साथ दिएका थिए ।
घोषणामा दाबी गरिएअनुसार आठ वर्षको अवधिमा चीनका ८३२ वटा गरिब जिल्ला, १ लाख २८ हजार गाउँ गरिबीमुक्त भएका हुन् ।
चिनियाँ मापदण्डबमोजिम त्यहाँका करिब १० करोड नगारिकलाई गरिबीको चपेटाबाट निकालिएको दाबी गरिएको छ ।
१० करोड मानिस गरिबीबाट मुक्त भएपछि संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यको अवधि सन् २०३० अगावै गरिबी न्यूनीकरण लक्ष्य प्राप्ति गरेको जनाइएको छ ।
प्रतिक्रिया