दुई नमूना सडक सञ्चालनका लागि २ करोड ८० लाख ठेक्का

५ बर्ष अगाडि

काठमाडौं - ग्रामीण सडकलाई व्यवस्थित र स्तरीय बनाउनका लागि मङ्गला गाउँपालिकाले नमूना सडक आयोजना सञ्चालन गरेको छ ।

गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर ३ र ४ बरङ्जा जाने र वडा नं १ कुहुँहुँदै टोड्के जाने सडकलाई स्तरोन्नति गर्न गाउँपालिकाले दुई वटा नमूना सडक आयोजना सञ्चालन गरेको हो । 

पोक–सातबिसे–ज्यामिरे–खर्सुपानी –३ नं वडा कार्यालय हुँदै ४ नं वडा कार्यालय बुकेनी जाने सडक स्तरोन्नतिको लागि राष्ट्रिय योजना आयोगको सम्पूण योजनाअन्तर्गत आयोग र पालिकाको बराबर साझेदारीमा कूल तीन करोड ३४ लाख बजेटमा ठेक्का प्रक्रियामार्फत् रु दुई करोड ८० लाखमा देब एण्ड सायर तिलक जेभीले ठेक्का लिएको छ । 

यही माघ २७ गते सम्झौता भएको यस निर्माण कम्पनीले सडकखण्डको सातबिसेखोलादेखि बरङ्जा गाउँसम्मको विभिन्न भागमा सडक स्तरोन्नति गर्ने गरी काम थालिसकेको छ । गाउँपालिकाले यसअघि नै सडक फराकिलो बनाइसकेको यस सडकखण्डमा रिटेनिङ पर्खाल, ग्याबिन जाली लगाउने, नाली निर्माणलगायतका स्तरोन्नतिको काम गर्नेछ । 

गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि पैयूँपाटा–कुहुँ–अँधेरीखोला–पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडकलाईसमेत नमूना सडक आयोजना सञ्चालन गरेको छ । गण्डकी प्रदेश सरकारको समपुरक बजेट रु ५० लाख र गाउँपालिकाको ६५ लाख बजेट विनियोजन भएको यस योजनालाई पनि ठेक्कामार्फत् कार्यान्वयनमा अघि बढाइएको छ । 

बोलपत्रमा सबैभन्दा कम ६८ लाख ४८ हजार ४०० कबोल गरेको सोमरस निर्माण सेवासँग ठेक्का सम्झौताको तयारी भएको गाउँपालिकाले जनाएको छ । 

यस सडकखण्डमा नाली निर्माण, ग्याबिन जाली लगाउने, रिटेनिङ पर्खाल निर्माण, खोला र खोल्सामा कजवे निर्माण गर्नेलगायतका पूर्वाधार बनाउने तयारी छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया