सडक कालोपत्र गर्ने पहिलो गाउँपालिका

५ बर्ष अगाडि

काठमाडौं - मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्र गर्न शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सशर्त अनुदान रु एक करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्रसमेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गर्न शुरु भएको हो । 

सडक कालोपत्र हुन थालेपछि बजार क्षेत्र चिटिक्क र सफा देखिएको छ । म्याग्दीमा बेनी नगरपालिका क्षेत्र बाहिर गाउँपालिकास्तरमा सडक कालोपत्र गर्न शुरु भएको यो पहिलो योजना हो । 

जिल्लाको बेनी बजारसँगै गलेश्वर र रत्नेचौरमा छोटो दूरीको सडक मात्रै कालोपत्र छ । एक नगरपालिका बाहेक पाँच गाउँपालिकामा कुनै पनि सडक पक्की छैन । 

बाबियाचौरको कालोपत्र नै जिल्लामा रहेका गाउँपालिकामा भएको पहिलो कालोपत्र योजना हो । गत वर्ष नै सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोना महामारीका कारण प्रभावित भएको योजनालाई प्रदेश सरकारसँगको सहमतिमा म्याद थप गरी सम्पन्न गर्न लागिएको गाउँपालिकाका इन्जिनीयर सुजन पाध्यायले जानकारी दिए । 

करीब छ सय मिटर सडकलाई ३ दशमलब ७५ मिटर फराकिलोमा कालोपत्र गर्ने सम्झौता अनुसार निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएको छ । 

सडकको अधिकांश स्थानमा अनुमानित भन्दा बढी साढे चार मिटर फराकिलोसम्म सडक कालोपत्र गर्ने गरी काम अघि बढेको सोमरस निर्माण सेवा कम्पनीका सञ्चालक प्रवीन सापकोटाले बताउनुभयो । गत वर्ष बेस र सबबेससँगै सडकको नाली लगाएको पूर्वाधार बनाउने काम सम्पन्न भएको थियो । 

कालोपत्र योजनालाई गुणस्तरीय र टिकाउ बनाउनको लागि निर्माण सामग्रीको प्रयोग र निर्माण कार्यमा निरन्तर अनुगमन र अवलोकन भइरहेका कालोपत्र योजनालाई गुणस्तरीय बनाउनका लागि गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र स्थानीय सरोकारवालालेसमेत नियमित रुपमा निगरानी गरिरहेका छन् । 

हिउँदमा धुलो र वर्षा याममा हिलोको सास्ती भोग्दै आएकोमा सडक कालोपत्र भएपछि धेरै राहत महसुस भएको म्याग्दी उद्योग वाणिज्य सङ्घ बाबियाचौर इकाइका अध्यक्ष राजु पाण्डेले बताए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया