५ लाखका लागि आफ्नै बुबासँग अपहरणको नाटक

५ बर्ष अगाडि

काठमाडौं - आफ्नै बुबासँग पैसा माग्न अपहरणको नाटक गर्ने युवतीको उद्धार गरिएको छ । काठमाडौंको गोठाटार बस्ने २४ वर्षीया विद्या तिमल्सिनाको उद्धार गरिएको हो । 

विद्या सोमबारबाट बेपत्ता भएकी थिइन् । बुधबार (फागुन १२)मा परिवारकै एक सदस्यको मोबाइलमा धम्कीपूर्ण म्यासेज आयो । बुहारीको नम्बरमा आएको म्यासेज यस्तो थियो, ‘तिमीहरुलाई यो केटी चाहिन्छ भने पुलिसलाई नभन बुझिस् । ५ लाख लिएर आउनु, छोरी मसँग झापामा छ ।’

म्यासेज विद्याकै नम्बरबाट गरिएको थियो । फिरौती मागेर धम्कीपूर्ण म्यासेज आएपछि परिवार प्रहरीकहाँ पुगे । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली उनको खोजीमा लाग्यो । 

अनुसन्धानबाट विद्या कालिमाटीमा रहेको खुल्यो । कालिमाटीबाट उनलाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

अपहरण नभई आफै नाटक गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गोठाटारबाट हिँडेकी विद्या सप्तरी पुगेर काठमाडौं फर्केकी थिइन् ।  

चावहिलको लक्ष्य बचत तथा ऋण सहकारीमा काम गर्ने विद्याले केही दिनअघि जागिर छाडेकी थिइन् । जागिर छाड्दा सहकारीमा उनको नाममा केही हजार पैसा बेरुजु देखियो । सो बाँकी पैसा तिर्नका लागि आफ्नो बुबासँग पैसा लिने नियतले अपहरणको अभिनय गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया