काठमाडौं - भन्सार कार्यालय सिरहाले गत आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म ६३ लाख २० हजार बढिको माल सामान जफत गरेको छ । भन्सार कार्यलयले भन्सार छली, चोरी निकासी, पैठारी मुद्दामा पक्राउ परी कुल ६३ लाख २० हजार ३ सय ५७ रुपैयाँ बराबरको माल सामान जफत गरेको हो ।
कार्यालयले उक्त जफत गरिएको माला सामान बिक्री लिलामी गर्ने भएको छ ।
कार्यालयले सोमबार एक सूचना जारी गर्दै माल वस्तु लिलाम बिक्री सम्बन्धी ७ दिने सिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
भन्सार ऐन, २०६४ को दफा ५० तथा भन्सार नियमावली ३६ बमोजिम यस्ता माल वस्तुको बिक्री लिलामी सिलबन्दी बोलपत्रको आह्वान गरिएको भन्सार कार्यालय ठाडीले जनाएको छ ।
विभिन्न समयमा जफत भई प्रतिवेदन समेत बनि कार्यालयमा दाखिला भइसकेका माल वस्तुहरू जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री वितरण गरिने गरि भन्सार कार्यालय ठाडी, सिरहाले जनाएको छ ।
प्रमुखतः दुई शीर्षकमा माल वस्तु छुट्याएको कार्यालयले पहिलो मुद्दा संख्या ११० सम्मलाई न्यनतम बिक्री मूल्य २१ लाख ७१ हजार ६ सय ४२ रुपैयाँ तोकेको छ भने दोस्रो मुद्दा १६९ सम्मलाई ४१ लाख ४८ हजार ७ सय १५ रुपैयाँ लिलामी मूल्य तोकेको छ ।
यी दुवै शीर्षकका लागि इच्छुक व्यक्ति, फर्म वा संघ–संस्थाले दरभाउपत्र खरिदका लागि रु २ हजार रुपैयाँ तिरेर दरखास्त दिन सक्ने विभागले जनाएको छ ।
प्रतिक्रिया