झापामा आज एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोडर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा पाँचवटा बिओपी स्थापना गरीएको हो ।
पाँचवटै बिओपीको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
यो सँगै झापामा बिओपीको सङ्ख्या १७ पुगेको छ । एउटा बिओपीमा प्रहरी निरीक्षकको कमान्डमा २५ जना सुरक्षाकर्मी रहने व्यवस्था मिलाइएको छ ।
यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौैरीगञ्ज, घेरावारी कुञ्जिवारी भद्रपुर र पृथ्वीनगर गरी कूल १२ वटा सशस्त्र प्रहरीको बिओपी स्थापना गरी सकिएको छ । सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरणका लागि जिल्लामा चार किलोमिटरको अन्तरमा ३७ वटा बिओपी स्थापना गर्ने सरकारको लक्ष्यअनुसार १७ वटा भइसकेको र बाँकी २० वटा निर्माणका लागि जग्गाको पहिचान भइसकेको छ ।
प्रतिक्रिया