काठमाडौं - आफ्नै छोरालाई अपहरण गरेर फिरौती मागेको आरोपमा बाबु पक्राउ परेका छन् । धनुषाको नगराइन नगरपालिका–६ गंगुलीका रमेश साहलाई आफ्नो ६ वर्षीय छोरा चन्दनलाई अपहरण गरी १ करोड फिरौती माग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
अपहरित बालकलाई शनिबार साँझ सकुशल उद्धार गरेको प्रदेश प्रहरीले जनाएको छ । अपहरणमा बालकका मामाको पनि संलग्न रहेको खुलेको प्रहरीले बताएको छ । उनलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ । बालकलाई अपहरण गरेर लुकाइ राखेको आरोपमा धनुषा एकराहिकी मञ्जु देवी ठाकुरलाई पनि पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक साहले बताए ।
घर अगाडीबाट शनिबार दिउँसो अपहरणमा परेका बालकको हजुरबुवासँग अपहरणकारीले १ करोड रुपैयाँ फिरौती माग गरेका थिए । अपहरणपछि फिरौती मागेको सूचना प्रहरीलाई आए लगतै परिचालन भएको प्रहरीले ३ घण्टाको अप्रेसनपछि बालकलाई जनकपुरबाट उद्धार गरी संलग्नहरुलाई मध्यराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बालक अपहरण बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया