एजेन्सी - इटालीका प्रधानमन्त्री मारियो ड्रागीले कोरोना भाइरसबाट प्रभावित इटालीको अर्थतन्त्रलाई जोगाउन विशेष राहत योजना बुधबार सार्वजनिक गर्ने तयारी गरेका छन् ।
युरोपेली केन्द्रीय बैंक (इसिबी)का पूर्व प्रमुख समेत रहृेका प्रधानमन्त्री ड्रागीले विश्वासको मत लिनुअघि सिनेटमा सम्बोधन गर्ने छन्।
इटालीका सबैजसो प्रमुख राजनीतिक दलहरुले ड्रागीलाई समर्थन जनाइसकेकाले विश्वासको मत प्राप्त गर्न उनलाई कठिन हुने छैन । इटालीले ७३ वर्षीय अर्थशास्त्री ड्रागीबाट निकै बढी आशा गरेको छ ।
ड्रागीले इटालीको ३०औं प्रधानमन्त्रीका रुपमा शनिबार सपथ लिनु भएको थियो । करिब एक महिनाको राजनीतिक खिचातानीपछि ड्रागी इटालीको प्रधानमन्त्रीमा चयन भएका थिए ।
इटालीमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ । बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोनाभाइरसका कारण इटालीमाथि पनि चुनौती थपिएको छ ।
यसैबीच, इटालीको अर्थतन्त्र गत वर्ष झण्डै ९ प्रतिशतले संकुचित भएको छ । युरोपेली मुलुकका मुलुकहरुमध्ये इटालीको अर्थतन्त्रको संकुचन निकै खराब हो । यहाँ करिब चार लाख ५० हजारको रोजगारी गुमेको छ जसमा अधिकांश महिला र युवा छन् ।
फेब्रुअरी ३ मा प्रधानमन्त्रीमा चयन भएपछि दिनुभएको संक्षिप्त मन्तव्यमा प्रधानमन्त्री ड्रागीले मुलुकमा सामु उत्पन्न कठिन चुनौतीका दिनमा राष्ट्रिय एकताका लागि आग्रह गरेका थिए ।
इटालीले युरोपेली युनियनको कोरोनाभाइरस पुनरुद्धार कोषबाट २ खर्ब ४० अर्ब डलरभन्दा बढी रकम प्राप्त हुने आशा गरेको छ । तर यसको बदलामा इटालीले निकै कठिन वा अलोकप्रिय सुधारका कार्यक्रम अघि सार्नु पर्नेछ ।
प्रतिक्रिया