पत्रकार महासंघको आपतकालीन कोषमा आर्थिक सहयोग

५ बर्ष अगाडि

काठमाडौं - नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आपतकालीन कोषमा पोल्याण्डमा रहेका नेपाली डाक्टर उदयदेव आचार्यले ५५ हजार बढी रकम सहयोग गरेका छन् ।

नेपाल पत्रकार महासंघ यूरोप शाखा मार्फत महासंघ केन्द्रीय समितिले श्रमजीवी पत्रकारहरुको राहतका लागि बनाएको आपतकालीन कोषमा जम्मा हुने गरी डाक्टर आचार्य र श्रीमती अनुपा रेग्मी आचार्यको संयुक्त नामबाट ५५ हजार ५ सय ५५ रूपैयाँ प्रदान गरेका हुन् । 

पोल्याण्डमा विगत २८ वर्षदेखि बस्दै आएका डाक्टर आचार्यको नेपालमा पुर्ख्यौली घर  तनहुँ जिल्लाको चुँदी रम्घा हो । पेशाले चिकित्सक रहेका आचार्य पोल्याण्डको नेशनल हेल्थ सर्भिस अन्तर्गतका विभिन्न क्लिनिकहरूमा कन्सलट्यान्टको रुपमा कार्यरत छन् ।

पोल्याण्डको राजधानी वारसामा एभरेष्ट नेपाली रेष्टुरेण्ट समेत सञ्चालन गर्ने उनी नेपाली व्यवसायी संघ पोल्याण्डको अध्यक्ष, एनआरएनए पोल्याण्डका संस्थापक तथा पोल्याण्डका लागि मानार्थ नेपाली पर्यटन दूत समेत हुन् ।

पोल्याण्डबाट यस अघि नेपाल पत्रकार महासंघ यूरोप शाखाका सदस्य शेरबहादुर परियारले १ लाख ११ हजार १ सय ११, एनआरएनए पोल्याण्डका अध्यक्ष नरेश सापकोटाले १ लाख ११ हजार १ सय ११, प्रवासी नेपाली एकता मञ्च पोल्याण्डका अध्यक्ष टंक कटुवालले १ लाख ५ हजार ५ सय रुपैयाँ आपतकालीन कोषमा सहयोग गरेका थिए। 

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुलाई राहतका लागि आपतकालीन कोषको लागि महासंघको तर्फबाट ३० लाख जम्मा गरेर सुरुवात गरेको कोष कम्तीमा १ करोडको बनाइने बताइएको छ ।

कोषमा जम्मा भएको रकम नमासिने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्यावाट पीडित पत्रकारहरुलाई राहत उपलब्ध गराउने गरी कोष सञ्चालन निर्देशिका र मापदण्ड तयार गर्ने निर्णय गरिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया