काठमाडौं- उद्यमशीलताको विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा परिमार्जन सहित कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट २०७७ पुस मसान्तसम्ममा ६० हजार ८ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक तथ्यांकले यस्तो देखाएको हो ।
चालु आर्थिक वर्ष पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको रु.१०० अर्ब ३७ करोड यस्तो कर्जा लगानीमा
रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३३ हजार ८ सय १७ ऋणीलाई प्रवाह भएको रु.७६ अर्ब ५९ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २७ हजार ६२ ऋणीको रु.२३ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ ।
कोभिड–१९ ले प्रभावित पेशा, उद्योग र व्यवसायलाई संरक्षण गर्नुको साथै कृषि र साना तथा मझौला र घरेलु व्यवसायलाई सहुलियत दिने उद्देश्यले पुनरसंरचना गरिएको पुनरकर्जाको नयाँ व्यवस्थाबाट चालु आवको माघ मसान्तमा रु.८७ अर्ब ८७ करोड पुनरकर्जा स्वीकृति भएको छ ।
प्रतिक्रिया