सिंहदरबारको इतिहास  !

५ बर्ष अगाडि

काठमाडौं- सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा विसं १९६० (इ.सं १९०३) मा बनाउन लगाएको ऐतिहासिक तथ्य छ । यसको निर्माण शुरू भएको एक वर्षभित्र नै पूरा भएको थियो । निर्माण पूरा हुँदा यसमा एक हजार ७०० वटा कोठा थिए । 

सिंहदरबार निर्माणकालमा एशियाभरिको सबैभन्दा ठूलो दरबार थियो । निर्माणमा त्यस बेला रु पच्चीस लाख खर्च भएको तथ्याङ्क छ । विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखिएको हो । विसं २००७ पछि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यालयसहित सबै मन्त्रालय राखिएको थियो । 

विसं २०३० मा यहाँ ठूलो आगलागी भएपछि पछाडिपट्टिको धेरैजसो भाग नष्ट भयो । सिंहदरबारमा आगलागीपछि थुप्रै सरकारी कार्यालय अन्त सारियो । हाल सिंहदरबार पुनःनिर्माण समितिमार्फत् परिसरमा थुप्रै नयाँ भवन बनेका छन् । प्रायः सबैजसो मन्त्रालय फेरि सिंहदरबार परिसरमै स्थापित भइसकेको छ ।
 
युरोपेली शैलीमा वास्तुकारद्वय कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले डिजाइन गरेका हुन् । चन्द्र शम्शेर शिकार तथा कलाका सौखिन भएकाले सिंहदरबारका भित्ता शिकार गरिएका जनावर तथा युरोपेली शैलीका चित्रकलाले सजाइएको थियो । सिंहदरबारका लागि बत्ती तथा अन्य शुङ्गारका वस्तु युरोपबाट मगाइएको हो ।
 
भूकम्पअघि रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगको कार्यालय पनि यही भवनमा थियो । वेसमेन्टसहित पाँच तले सिंहदरबारको मूल भवनबाटै प्रमुख प्रशासनिक स्थलको नामाकरण भएको छ ।
 
प्रबलीकरणमा प्रविधि
  

उत्तर, दक्षिण र पुर्वी खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री जस्तै सिमेन्ट, बालुवा, छड, बोण्डिङ केमिकल प्रयोग गरी पुरानैस्वरुप नबिग्रने गरी प्रबलीकरण गरिएको छ । प्रबलीकरण गर्दा आरसिसी, एङ्करिङ, स्ट्रक्चरल स्टील तथा फलामे छडको प्रयोग गरी भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिमलाई धान्न सक्ने गरी सुरक्षित गरिएको आयोजना उपप्रमुख विश्वकर्माले बताए । 

पबलीकरण प्रविधिमा दुवै भागमा कङ्क्रिट ज्याकेटिङ, केमिकल बोण्डिङ एजेण्ट (एपोक्सी) प्रयोग गरी एङ्करिङ तथा स्ट्रक्चरल स्टील प्रयोग गरी बलियो बनाइएकोे छ । उत्तर, दक्षिण तथा पूर्वी मुख्य भागलाई सुरक्षित गरे पश्चात् भवनलाई अत्याधुनिक सुविधा सम्पन्न बनाउन यान्त्रिक, विद्युतीय प्लम्बिङ, सूचना प्रविधि र सुरक्षाको व्यवस्थासमेत गरिएको एकाइले जनाएको छ ।
   
सिसीटिभी जडान, बगैँचालगायत सौन्दर्यकरणका काम सम्पन्न गरिएको छ । हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मौजुदा सङ्गठन संरचनाअनुरुप आवश्यकपर्ने कार्यकक्ष तथा बैठक कक्षसमेत निर्माण गरिएका छन् । साथै फिनिसिङ तथा फर्निचरकोसमेत पर्याप्त तथा उपयुक्त ढङ्गले व्यवस्था गरिएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया