सरकारले विकासको कार्यलाई सहजीकरण गर्दै तीन वर्षमा १४२ विकास आयोजनालाई एक हजार ७७९ हेक्टर वन क्षेत्रको जग्गा अन्य प्रयोजनको लागि उपलब्ध गराएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश लम्सालले जानकारी दिए । राष्ट्रिय वन तथा निजी वनबाट चार करोड ५५ लाख ६० हजार ३१६ घनफिट काठ तथा ५६ हजार ६०८ चट्टा दाउरा उत्पादन गरिएको छ । यस अवधिमा वनजन्य, जडीबुटी तथा फलफुलका पाँच करोड ७८ लाख ४५ हजार ४४० बिरुवा उत्पादन भई नौ हजार १६२ हेक्टरमा वृक्षरोपण गरिएको छ ।
वन क्षेत्रमा भएको तीन हजार ८८७ हेक्टर अतिक्रमण हटाइ पुनःस्थापन गरिएको र वन क्षेत्रमा आधारित उद्यम प्रवद्र्धनका लागि तीन हजार ५१४ वन उद्यम सञ्चालन भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यस अवधिमा पाँचआंैले, जटामसी, खयर, सिमल, दार, मौवा, हल्दु, विजयसाल, सतिसाल, गुराँस गरी १० वनस्पति प्रजातिको संरक्षण कार्ययोजना स्वीकृत गरी कार्यान्वयन गरिएको छ ।
नेपालका वनस्पतिको पहिचान, व्यवस्थापन तथा स्व स्थानीय र परस्थानीय संरक्षण, अध्ययन तथा अनुसन्धान र अभिलेखीकरण गरिएको छ भने यस अवधिमा ५७ हजार ८४३ हर्वेरियम नमूनाको डिजिटाइजेशन सम्पन्न भएको छ । जडीबुटी व्यापार तथा निर्यात सहजीकरणका लागि चार हजार ७२० जडीबुटीजन्य नमूना र सारतत्वको विश्लेषण, प्रमाणीकरण तथा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । जडीबुटी प्रशोधन तथा उत्पादन कम्पनी लिमिटेडद्वारा ७९ टन सुगन्धित तेल उत्पादन र एक करोड २४ लाख ६८ हजार ४० थान हर्बल केयर उत्पादन गरिएको छ ।
प्रतिक्रिया