भरतपुरको विकासले गति लिँदै

५ बर्ष अगाडि

गाउँदेखि शहरसम्म मिलाएर बनेको भरतपुर महानगरपालिकाभित्र विकासका क्रियाकलप बढ्दै गएको छ । जनप्रतिनिधि आएसँगै सानादेखि ठूला परियोजना निर्माण हुन थालेपछि विकासका कामले गति लिएको हो । 

महानगरपालिका, वाग्मती प्रदेश सरकार र सङ्घीय सरकारका आयोजना यस महानगरमा सञ्चालनमा आएसँगै विकासका कामले गति लिएको हो । महानगरपालिकको अगुवाइमा प्रदेश र सङ्घीय सरकारको साथकै कारण महानगरमा ठूला आयोजना अघि बढेका हुन् । भरतपुरभित्र बन्दै गरेका र बन्ने तयारीमा रहेका एक दर्जनभन्दा बढी आयोजना रहेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, भरतपुर महानगर सिटी हल, पुल्चोक–गोन्द्राङ छ लेन सडक, नारायणी नदी किनार आयोजना, हुलाकी सडक, उद्योग ग्राम, चौबीसकोठी–मेघौली सडक, रिङरोड र लिङ्क रोडको काम धमाधम भइरहेको छ । यस्तै नारायणगढको लायन्सचोकमा बहुउद्देश्यीय भवन, भरतपुर विमानस्थल विस्तार, स्मार्ट सडक बत्तीजस्ता परियोजना सञ्चालनको तयारीमा रहेका छन् । 

महानगर प्रमुख रेनु दाहालका अनुसार क्रिकेट रङ्गशालाका लागि महानगरकै पहलमा जग्गा खोजी गरी काम तीव्र गतिमा अघि बढिरहेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माणको काम अघि बढाएको हो । यस परियोजना सम्पन्न भएसँगै अन्तर्राष्ट्रियस्तरका खेल यहाँ हुनेछन् । जुन नेपालको महत्वपूर्ण परियोजना मध्येको एक बन्ने दाहालको भनाइ छ । यो आयोजनाको निर्माणको काम रातदिन भइरहेको छ । 

भरतपुर महानगरपालिकाको वडा नं १ र ३ को नारायणी नदी किनारालाई ‘सी बीच मोडेल’ मा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्ने गरी काम अगाडि बढाइएको छ । दाहालका अनुसार गत आर्थिक वर्षमा महानगरबाट रु एक करोड रकम खर्च भई फुटपाथ बनेको थियो । यस आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट करिब रु सात करोडको बोलपत्र आह्वान भइसकेको छ । यससँगै यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेछ । 

यस्तै भरतपुर महानगरपालिका–११ को गणेशस्थानलाई गणेशधामका रुपमा विकास गर्ने काम धमाधम भइरहेको छ । उक्त ठाउँमा पानी पोखरी, मन्दिर, पार्कलगायतका संरचना बन्नेछन् । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा यसलाई विकास गर्न लागिएको प्रमुख दाहालले बताउनुभयो । वाइपास सडक किनारमा सिटीहल निर्माणको काम धमाधम भइरहेको छ । सङ्घीय सरकारको रु ७७ करोड ७७ लाख बजेटमा सघन शहरी तथा भवन आयोजनाबाट ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको हो । महानगरकै पहलमा जिल्ला समन्वय समितिको जमिन महानगरको नाममा ल्याएर काम अगाडि बढाइएको दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो तेस्रो प्रयासपछि महत्वपूर्ण आयोजना अघि बढेको छ । यसले सिङ्गो चितवनको विकासमा टेवा पुग्नेछ ।” सँगै रहेको वाइपास सडक पनि विस्तारको काम भइरहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया