हिउँमा दाउरा विक्री गर्ने बालिकालाई पत्रकार बानियाँद्वारा सहयोग

५ बर्ष अगाडि

काठमाडौं - हुम्लाको सिमकोट गाउँपालिका वडा नं ७  डाँडाफयाको चुकेडी गाउँमा रहेका दाउरा बिक्री गर्ने बालबालिकालाई पत्रकार राजेन्द्र बानियाँले सहयोग गरेका छन् । 

यही माघ २३ गते परेको हिमपातपछि माघ २४ गते कापी, कलमलगायत घरखर्च चलाउनका लागि बाक्लो हिउँमा दाउरा बिक्री गर्न सदरमुकाम सिमकोट पुगेका बालबालिकालाई पत्रकार बानियाँले आज सहयोग गरेका हुन् । 

पत्रकार बानियाँले ती बालबालिकाको लागि रु ३० हजार पठाएका हुन् ।  सो रकमबाट १, ३, ४ र ५ कक्षामा अध्ययनरत बालबालिकालाई एक वर्षका लागि पुग्ने १४ प्रकारका शैक्षिक सामग्री किनेर हस्तान्तरण गरिएको हो । 

बालबालिकालाई कापी, कलम, ज्यामिति बक्स, क्याल्कुलेटर, रङ, डटपेन, सिसाकलम, सामान्यज्ञानको पुस्तक, खेल सामग्री, झोला, जुत्ता, विद्यालय पोशाकलगायत सामान दिइएको हो ।
 
हुम्ला उच्च हिमाली भएकाले त्यो दिन हिउँ बाक्लो परे पनि ती बालबालिकाले आफ्नो खर्च चलाउनका लागि दाउरा बिक्री गर्न सदरमुकाम सिमकोट पुगेका थिए । 

ती बालबालिकाका साथै  वडा नं ७ डाँडाफया गाउँका प्रायः सबै बालबालिका आफ्नो खर्च चलाउनका लागि सार्वजनिक बिदाको दिन र शनिबार दाउराको भारी बोकेर सिमकोट आउने गरेका छन् ।

गाउँबाट सदरमुकाम सिमकोट पुगेका बालबालिकाले एक भारी दाउराको रु पाँच सयदेखि रु एक हजारसम्ममा बिक्री गरेर बेलुका घर फिर्ता हुने गर्छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया