काठमाडौं- जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५९.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क भने ९.८८ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ११ करोड ९७ लाख रुपैयाँ मात्र बीमाशुल्क आर्जन गरेको छ।
१ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६ करोड ६२ लाख रुपैयाँ, बीमा कोषमा ७ करोड ४८ लाख रुपैयाँ सञ्चित छ।
पुस मसान्तसम्ममा कम्पनीले ४२ हजार ७१५ बीमालेख जारी गरी ३५ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। त्यसैगरी, सो अवधिसम्ममा कम्पनीले १७९ दाबी बापत ७ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ४९५ दाबी बापतको २५ करोड ६३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ८४ पैसा रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात ८१.९६ गुणा रहेको छ।
प्रतिक्रिया